सार्कलाई पुनर्जीवित गर्दै यसलाई थप गतिशील, समावेशी र परिणाममुखी बनाउन आवश्यक छ: प्रधानमन्त्री कार्की

User Image Prime TV News एक महिना अगाडि
Image of सार्कलाई पुनर्जीवित गर्दै यसलाई थप गतिशील, समावेशी र परिणाममुखी बनाउन आवश्यक छ: प्रधानमन्त्री कार्की

काठमाडौ । प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई पुनर्जीवित गर्दै यसलाई थप गतिशील, समावेशी र परिणाममुखी बनाउन सदस्य राष्ट्रहरूबीच नयाँ संकल्प आवश्यक रहेको बताएकी छन्।

सार्कको ४१औँ चार्टर दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले साझा हितका विषयमा एकताबद्ध भएर अघि बढे मात्र दक्षिण एशियाली जनताको आकांक्षा पूरा गर्न सकिने उल्लेख गरिन्।

कार्कीले तीन दशकअघि दक्षिण एसियालाई शान्ति, स्थिरता र साझा समृद्धिले एकत्रित बनाउने लक्ष्यसाथ सार्क स्थापना गर्ने संस्थापक नेताको दूरदृष्टिलाई स्मरण गर्दै सो दृष्टिकोणलाई व्यवहारिक रूपमा पुनर्जीवित गर्न अहिल्यै उपयुक्त समय रहेको बताइन्।

सार्कले विगतमा आपसी विश्वास, समझदारी र सहकार्य अभिवृद्धि गर्दै विविध क्षेत्रीय पहललाई अघि बढाउन प्रभावकारी मञ्चको भूमिका खेलेको उल्लेख गरिन् ।  “खाद्य तथा ऊर्जा सुरक्षा, जलवायु परिवर्तन, डिजिटल विभेद र गरिबी न्यूनीकरणजस्ता चुनौती समाधानमा सामूहिक प्रयास अपरिहार्य छ,” उनले जोर दिँदै भनिन्, “सार्क चार्टरले यिनै उद्देश्यमा सदस्य राष्ट्रहरूलाई निरन्तर मार्गदर्शन गर्दै आएको छ।”

प्रधानमन्त्री कार्कीले अध्यक्ष राष्ट्रका रूपमा नेपाल सबै सदस्यहरूसँग मैत्री, एकता र सहमतिको भावनामा आधारित सहकार्यलाई सुदृढ गर्न प्रतिबद्ध रहेको उल्लेख गरिन्। दक्षिण एसियाली सहयोग प्रवर्द्धनको उद्देश्यले सन् १९८५ डिसेम्बर ८ मा बंगलादेशको ढाकामा सार्क चार्टरमा हस्ताक्षरपछि संगठन स्थापना गरिएको थियो।

अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका गरी आठ देश सदस्य रहेका यस संगठनको सचिवालय १९८७ जनवरी १७ मा काठमाडौँमा स्थापना भएको थियो।

सार्कअन्तर्गत सबैभन्दा उच्च निर्णय निकाय राष्ट्रप्रमुख वा सरकार प्रमुखको शिखर बैठक हो, जसलाई वर्णानुक्रमअनुसार सदस्य राष्ट्रले पालैपालो आयोजना गर्छन्। हालसम्म १८ शिखर सम्मेलन सम्पन्न भइसकेका छन् भने अन्तिमपटक सन् २०१४ नोभेम्बर २६–२७ मा काठमाडौँमा बैठक बसेको थियो। त्यसयता विभिन्न कारणले शिखर सम्मेलन अवरुद्ध हुँदै आएको छ।