पुटिनको दिल्ली यात्रा पछ्याउँदै जेलेन्स्कीको सम्भावित भारत भ्रमणले बढायो कूटनीतिक चहलपहल

User Image Prime TV News २ महिना अगाडि
Image of पुटिनको दिल्ली यात्रा पछ्याउँदै जेलेन्स्कीको सम्भावित भारत भ्रमणले बढायो कूटनीतिक चहलपहल

काठमाडौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमण सकिएको केही दिनमै अब युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि भारत आउने सम्भावना बढेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार जेलेन्स्कीको दिल्ली यात्राबारे दुई देशबीच सक्रिय कूटनीतिक संवाद चलिरहेको छ र आगामी वर्ष २०२६ को सुरुवाततिर सम्भावित भ्रमणको तयारी अघि बढाइएको छ। पुटिन गत बिहीबार भारत आएका थिए र शुक्रबार साँझ स्वदेश फर्किए।

उनको छोटो तर महत्वपूर्ण भेटवार्तापछि अब जेलेन्स्कीको सम्भावित यात्रा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय कूटनीतिमा थप नयाँ सन्देश दिन सक्ने विश्लेषण गरिएको छ । द इन्डियन एक्सप्रेसका अनुसार पुटिन दिल्ली पुग्नुभन्दा पहिले नै भारत र युक्रेनबीच उच्चस्तरीय सम्पर्क सुरु भइसकेको थियो।

तर जेलेन्स्कीको भ्रमण कहिले हुने भन्ने कुरा यसै क्षण निश्चित छैन। अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अघि बढिरहेको शान्ति पहल, युद्धभूमिको परिस्थितिको उतार चढाव तथा युक्रेनको घरेलु राजनीतिक अवस्थाजस्ता विषयले निर्धारण गर्ने बताइएको छ।

युक्रेनका राष्ट्रपतिले अहिलेसम्म मात्र तीनपटक १९९२, २००२ र २०१२ भारत भ्रमण गरेका छन्। त्यसैले आसन्न संभावित यात्रा किभ–दिल्ली सम्बन्धमा नयाँ मोड बन्न सक्ने अपेक्षा गरिएको छ।