डडेलधुराबाट अन्तिमपटक चुनाव लड्ने तयारीमा कांग्रेस सभापति देउवा
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी प्रतिनिधि सभा निर्वाचनमा पुनः डडेलधुराबाटै उम्मेदवार बन्ने तयारीमा रहेका छन्।
पार्टीभित्र चुनावी परामर्शका क्रममा देउवाले यसपटकलाई आफ्नो अन्तिम चुनावी प्रतिस्पर्धा हुने संकेत दिएका छन्। डडेलधुरा कांग्रेसका सभापति भीमबहादुर साउदका अनुसार देउवाले उम्मेदवारी मनसाय व्यक्त गरेपछि जिल्लाबाट उनीकै नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने तयारी भइरहेको छ।
“उहाँ स्वयं उठ्ने चाहना राख्नु भएको छ। त्यसअनुसार हाम्रो जिल्ला कांग्रेसले पूर्ण समर्थनसहित नाम सिफारिस गर्छ,” साउदले बताए। हालै महाराजगञ्जस्थित देउवा निवासमा भेट गर्न पुगेका सुदूरपश्चिमका एक केन्द्रीय सदस्यले पनि सभापतिले चुनाव लड्ने इच्छा पुनः दोहोराएको जानकारी दिएका थिए।
“नेताहरूले तपाईं नै उठ्नुपर्छ भनेपछि देउवा ‘म उठ्छु’ भनेर सकारात्मक प्रतिक्रिया दिनुभयो,” उक्त सदस्यले बताए। मंगलबार बिहान देउवासी भेटमा पुगेका नेविसंघ नेता भुवन भट्टले पनि सभापतिले यसपटक अन्तिमपटक उम्मेदवारी दिने संकेत गरेको बताए।
कांग्रेसले यसै महिनाको अन्त्यसम्ममा केन्द्रमा उम्मेदवार सूची सिफारिस गर्ने परिपत्र पठाइसकेको छ। विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिला सहित तीन नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ। २०७४ साल यतै मात्र होइन, देउवाले २०४८ सालदेखि निरन्तर डडेलधुरामा जित कायम गर्दै आएका छन्। यसपटकको प्रतिस्पर्धालाई पनि पार्टीभित्र महत्वपूर्ण रूपमा हेरिएको छ।













