भ्रष्टाचार विरुद्ध सरकार कुनै पनि हदसम्म कठोर कदम चाल्न तयार छ : प्रधानमन्त्री कार्की

User Image Prime TV News एक महिना अगाडि
Image of भ्रष्टाचार विरुद्ध सरकार कुनै पनि हदसम्म कठोर कदम चाल्न तयार छ : प्रधानमन्त्री कार्की

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध आफ्नो सरकार कुनै पनि हदसम्म कठोर कदम चाल्न तयार रहेको बताएकी छन्। उनले वर्तमान सरकार चुनावी मात्र नभई सुशासनका लागि पनि प्रतिबद्ध बनेको उल्लेख गरिन् ।

२२औं अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्ध दिवसको अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारविरुद्धको लडाइँलाई तीव्र गति दिइरहेको जानकारी दिइन्। उनले भने, “यो सरकार चुनावी मात्र होइन, सुशासनको माग राखी भएको जनआन्दोलनको आधारमा बनेको हो।

हामी सुशासनको संस्थागत सुधारका लागि सक्रिय छौं।” प्रधानमन्त्री कार्कीले सरकारका राज्य संयन्त्रहरू क्रियाशील रहेको र भ्रष्टाचारविरुद्ध कार्यवाहीमा कुनै पनि हालतमा ढिलाइ नगर्ने बताइन्। "यसका लागि राज्यका स्थापित संयन्त्रहरू पूर्ण रूपले सक्रिय भएका छन् र हामी कुनै पनि हालतमा भ्रष्टाचारको घटनामा संलग्न व्यक्तिहरूलाई बाँच्न दिने छैनौं," उनले भनिन्।

उनले थप भनिन्, "यस दिशामा उठाइएका कदमहरूलाई चुनौती दिने वा धम्क्याउने प्रयास भए पनि हामी डराउने छैनौं। हामी आफ्नो काम र कर्तव्य प्रति पूर्ण प्रतिबद्ध छौं।" प्रधानमन्त्री कार्कीले सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरूलाई पनि विचलित नगर्न र निर्णायक रूपमा काम गर्न आग्रह गरिन्। "तपाईंहरूलाई आफूले गरेको काममा निर्भीक रहन आग्रह गर्दछु," उनले भनिन्।