सक्रिय राजतन्त्र सम्भव छैन, संवैधानिक राजसंस्था आवश्यकः राप्रपा महामन्त्री राणा

User Image Prime TV News २ महिना अगाडि
Image of सक्रिय राजतन्त्र सम्भव छैन, संवैधानिक राजसंस्था आवश्यकः राप्रपा महामन्त्री राणा

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले नेपालमा सक्रिय राजतन्त्र अब सम्भव नहुने स्पष्ट पारेका छन्। मंगलबार पार्टीले काठमाडौंमा गरेको सभालाई सम्बोधन गर्दै उनले संवैधानिक राजसंस्था आवश्यक रहेको बताए।

राणाले भने, "धेरै साथीहरूले सक्रिय राजतन्त्रका कुरा गर्छन्, तर हामी सहमत छैनौं। अब सक्रिय राजसंस्था होइन, संवैधानिक राजसंस्था आवश्यक छ। नेपालीका छोराछोरीले देश चलाउने हुन्, र राजसंस्थाले अभिभावकको भूमिका निभाउनु पर्छ।" उनले यस विषयमा आफूले पूर्वराजासँग पनि कुराकानी गरेर स्पष्ट पारेको जानकारी दिए।

अहिले चुनावको आवश्यकताबारे पनि राणाले धारणा राख्दै भने, "अहिले निर्वाचनको आवश्यकता छैन। हालको निर्वाचनले देशलाई निकास दिन सक्दैन। हामीले देशलाई नयाँ सोचका साथ अगाडि बढाउनुपर्ने आवश्यकता छ।"

राणाले पार्टीको दीर्घकालीन उद्देश्य र चुनौतीबारे पनि चर्चा गर्दै भने, "ठूलो हृदयले सबै हिन्दुवादी, राजावादी, गणतन्त्रविरोधी र संघीयताविरोधीलाई एक ठाउँमा राख्न नसक्ने हो भने राप्रपाले बोकेको मूल्य र मान्यता यथार्थमा परिणत गर्न कठिन हुन्छ।"