शाक्यको आरोपः ओलीको अभिव्यक्ति महिलाप्रति अपमानजनक

User Image Prime TV News २ महिना अगाडि
Image of शाक्यको आरोपः ओलीको अभिव्यक्ति महिलाप्रति अपमानजनक

काठमाडौ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीबारे प्रयोग गरेको अभिव्यक्ति महिलामाथिको अपमान भएको आरोप लगाएकी छन्।

आगामी महाधिवेशनलाई लक्ष्य गरेर अध्यक्षको प्रत्यासी समूह नेता इश्वर पोखरेल पक्षद्वारा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै शाक्यले ओलीको टिप्पणी ‘नेतृत्वको मर्यादा विपरीत’ भएको बताइन्।

एक अन्तर्वार्तामा ओलीले भण्डारीलाई लक्षित गर्दै, ‘धामीले जस्तो ढ्याङ–ढ्याङ पार्दै अध्यक्ष छोड् भन्दै आउने’ अभिव्यक्ति प्रयोग गरेका थिए। यही भनाइप्रति आपत्ति जनाउँदै शाक्यले प्रश्न गरिन्,“सामान्य नागरिकप्रति पनि यस्तो भाषा प्रयोग हुँदैन, पूर्वराष्ट्रपतिलाई त झन् कत्तै सुहाउँदैन। नेतृत्वमा बसेको व्यक्तिले यो स्तरको शब्द प्रयोग गर्नु अस्वीकार्य छ।”

उनले ओलीको महिलाप्रतिको सोच नै कमजोर रहेको आरोप समेत लगाउँदै भनिन्, “केपी कमरेडले यस्तो गर्न मिल्छ भन्ने सोच राख्नु नै समस्या हो। महिलाप्रति हेर्ने दृष्टिकोण सकारात्मक छैन। यसले सबै महिलाको अपमान भएको छ।”

हाल देशभर महिला हिंसाविरुद्ध १६ दिने अभियान सञ्चालन भइरहेका बेला यस्तो टिप्पणी आएको भन्दै शाक्यले यसले अभियानकै उद्देश्य कमजोर बनाएको बताइन्। “यस्तो संवेदनशील समयमा प्रयोग गरिएको यस्तो भाषा महिलामाथिको नै हरेक हिसाबले अपमान हो,” उनले भनिन्, “अब यस्तो नेतृत्व आवश्यक छैन। यसको विरुद्ध सशक्त आवाज उठाउनुपर्छ।”