केपी शर्मा ओलीले अब नेतृत्वबाट सम्मानपूर्वक बिदा लिनुपर्छः एमाले उपाध्यक्ष शाक्य
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेभित्र नेतृत्व पुस्तान्तरणको बहस तीव्र बन्दै गएको छ।
पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वरिष्ठ नेता ईश्वर पोखरेललाई अगाडि सार्दै अध्यक्ष केपी शर्मा ओलीले अब नेतृत्वबाट सम्मानपूर्वक बिदा लिनुपर्ने स्पष्ट सन्देश दिएकी छन्। काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा शाक्यले पार्टीमा एकै व्यक्तिले लामो समयसम्म नेतृत्व सम्हाल्ने संस्कार अन्त्य हुनुपर्ने भन्दै ओलीको ११ वर्ष लामो कार्यकाललाई स्वाभाविक रूपमा निष्कर्षमा पुर्याउनुपर्ने उल्लेख गरिन्।
उनले ओलीको योगदानको सम्मान गर्दै भनेकी थिइन्, “अब उमेरका हिसाबले पनि ओलीजीले आराम गर्नुहुन्छ। ११ वर्ष नेतृत्व सम्हाल्नुभएको छ, अब नयाँ पुस्तालाई मौका दिने बेला आएको छ।” शाक्यका अनुसार, दुई वर्षे कार्यकाल र ७० वर्षको उमेर सीमा आफैं ओलीले अघि सारेको प्रावधान भएकाले त्यसलाई उही व्यक्तिले नै पालना गर्नुपर्ने स्थिति आएको छ। उनले विचार र कार्यशैली दुवै हिसाबले ईश्वर पोखरेल नै उपयुक्त वैकल्पिक नेतृत्व भएको दाबी गरिन्।
पार्टी नेतृ विन्द्रा पाँडेले पनि उस्तै कठोर टिप्पणी गर्दै ओली नेतृत्वले विधान संशोधन गरेर युवा पिँढीलाई रोक्ने प्रयास गरिरहेको बताइन् । उनले भनिन्, “नेतृत्वको अवधि १० वर्षभन्दा बढी नबनाउने प्रस्तावक नै ओली कमरेड हुनुहुन्छ। अब आफूलाई फाइदा पुग्ने भनेर प्रावधान हटाउने प्रयास कुनै हालतमा मान्य हुँदैन।”
पाँडेले प्रतिनिधि चयन भइसकेपछि विधान संशोधन गर्न नहुने ऐन–नियमलाई स्मरण गराउँदै युवा पिँढीलाई नेतृत्वबाट टाढा राख्ने कुनै प्रयास भए त्यसविरुद्ध कडा प्रतिवाद हुने चेतावनी दिइन्।












