जेनजी आन्दोलनका विषयमा ‘हामी नेपाल’ संयोजक गुरुङद्वारा प्रधानमन्त्री कार्कीलाई छिटो सहमति टुंग्याउन आग्रह
Prime TV News एक महिना अगाडि 
काठमाडौ । ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी सरकारले जेनजी आन्दोलनसँग गरिरहेको सहमति प्रक्रियामा चासो व्यक्त गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटबारे जानकारी प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको हो। सचिवालयका अनुसार, गुरुङले सरकार र जेनजीबीच भइरहेको सम्झौता प्रक्रिया अनावश्यक रूपमा ढिलो भइरहेको भन्दै छिटो निष्कर्षमा पुर्याउन आग्रह गरेका थिए।
उनका अनुसार, जेनजी आन्दोलनलाई वैधता प्रदान गर्ने उद्देश्यले भइरहेको कार्यलाई अब ढिलाइ नगरिकन राष्ट्रपतिसमक्ष हस्ताक्षरका लागि अघि बढाउनुपर्ने आवश्यकता छ। भेटका क्रममा गुरुङले जेनजी आन्दोलनमा सहभागी भएका युवामाथि भइरहेका धरपकडका घटना बारे पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
उनले केही युवालाई प्रहरीले पक्राउ गरेको र धरौटी बुझाउन आर्थिक अभाव हुँदा कतिपयलाई पुर्पक्षका लागि जेल जानुपरेको गुनासो गरेका थिए। भेटमा गुरुङले आन्दोलनमा सहभागी भएकै कारण युवाहरूलाई लक्ष्यित गरेको कारवाहीले समाजमा अनावश्यक तनाव सिर्जना भइरहेकोले यसको तत्काल समाधान आवश्यक रहेको बताएका छन् ।
प्रधानमन्त्री कार्कीले गुरुङले उठाएका विषयलाई सम्बन्धित सुरक्षा तथा प्रशासनिक निकायमार्फत समीक्षा गरी उचित कदम चालिने आश्वासन दिएको सचिवालयले जनाएको छ।













