आजदेखि अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक
Prime TV News एक महिना अगाडि 
काठमाडौ । आजदेखि अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न पूर्णरूपमा रोक लगाएको छ। अस्ट्रेलिया अब नाबालक इन्टरनेट सुरक्षा कानून लागू गर्ने पहिलो राष्ट्र बन्न पुग्यो।
यससँगै टिकटक, युट्युब, फेसबुक, इन्स्टाग्रामलगायत कुनै पनि लोकप्रिय साइट अब १६ वर्षभन्दा कम उमेरका बच्चाहरूका लागि खोल्न नै नपाइने भएको छ । सरकारले इन्टरनेट बालबालिकाको मानसिक, भावनात्मक र सामाजिक स्वास्थ्यका लागि जोखिम बनेको र त्यसैले नियन्त्रण अपरिहार्य भएको वताएको छ ।
यो कानून उल्लंघन गरे सामाजिक सञ्जाल कम्पनीहरूले ४.९५ करोड अस्ट्रेलियाली डलरसम्म जरिवाना तिर्नुपर्छ। नोभेम्बर २०२४ मा पारित भएको यो कानुन आजदेखि लागू भएपछि अब कम्पनीहरूलाई उमेर प्रमाणिकरण प्रणाली मजबुत बनाउनैपर्ने बाध्यता आएको छ।
अन्य देशको तयारी कहाँ पुगेको छ?
अमेरिकाले १३ वर्षभन्दा कम उमेरका प्रयोगका लागि अभिभावक सहमति अनिवार्य गरेको छ, तर स्वतन्त्रताको अधिकारका कारण कानुनी विवाद बढिरहेको छ।
युरोपेली संसदले सामाजिक सञ्जालका लागि न्यूनतम आयु १६ वर्ष बनाउने सिफारिस गरिसकेको छ। ब्रिटेनले हानिकारक सामग्रीबाट जोगाउन कडाइ बढाए पनि स्पष्ट आयु सीमा तोकिएको छैन।
जर्मनी, इटाली, फ्रान्स, नर्वे र डेनमार्कले १४–१५ वर्षबीच सहमति आधारित पहुँच वा प्रतिबन्ध लागू गरिरहेका छन्। चीनमा ‘माइनर मोड’ सक्रिय छ जसले स्क्रिन टाइमदेखि सामग्रीसम्म नियन्त्रण गर्छ। मलेसियाले सन् २०२६ देखि १६ वर्ष मुनिका प्रयोगकर्तामाथि सीधा प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ ।













