भण्डारीले कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा, संगठन र समयले मागे अनुसार अघि बढ्छु
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको आसन्न १५ औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।
उनले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारीको घोषणा गर्दै पार्टीभित्र नेतृत्व परिवर्तन र नवीकरणको आवश्यकता रहेको धारणा राखेका छन्। ‘साथीहरूको जिज्ञासा, मेरो धारणा’ शीर्षकमा स्टाटस लेख्दै भण्डारीले सभापति पदप्रति आफ्नो आकांक्षा स्पष्ट भइसकेको जनाएका छन्।
उनले देशको राजनीतिक दिशा, जनताको अपेक्षा, प्रजातान्त्रिक मूल्य मान्यता र संगठनको आन्तरिक आवश्यकताले निर्धारण गर्ने मोडमा आफू पूर्ण रूपमा तयार रहेको वताए । उनले लेखेका छन्, “नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि निर्धारित छ।
तर देश, जनता र संगठन जहाँ उभिन्छ, त्यसअनुसार शून्यदेखि सयसम्म जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु।” भण्डारीले वर्तमान राजनीतिक परिवेश, पार्टीभित्रको सुझाव र समयको मागलाई सम्मान गर्दै उचित क्षणमा निर्णयका कदमहरू चालिने पनि प्रस्ट्याए।
उनका अनुसार अबको नेतृत्वले पार्टीलाई वैचारिक रूपान्तरण, युवापुस्ताको समावेशीकरण र संगठनात्मक सुदृढीकरणतर्फ अघि बढाउनुपर्ने आवश्यकता छ। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन पुस २७ देखि २९ गतेसम्म काठमाडौँमा हुन लागेकाे छ। महाधिवेशन नजिकिँदै जाँदा भण्डारीको उम्मेदवारी घोषणाले कांग्रेस भित्र आगामी नेतृत्व प्रतिस्पर्धा थप रोचक बनाउने छ ।













