भ्रष्टाचार मानव अधिकारका लागि सबैभन्दा ठूलो खतरा : प्रधानमन्त्री कार्की
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले देशमा मानव अधिकारको सुरक्षामा सबैभन्दा ठूलो बाधा भ्रष्टाचार रहेको बताएकी छन्।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारले राज्यको विकास मात्र रोकिने होइन, सर्वसाधारण नागरिकका आधारभूत अधिकारमै प्रत्यक्ष चोट पुर्याउने धारणा राखिन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले भ्रष्टाचारलाई 'आर्थिक अनियमितता मात्र भन्ने बुझाइ अब पर्याप्त नरहेको' बताउँदै यसको प्रभाव सबैभन्दा बढी विपन्न, अशक्त र अवसरबाट वञ्चित समुदायमाथि पर्ने स्पष्ट गरिन्। उनले भनिन्, “जब कुनै परियोजना भ्रष्टाचारले ग्रस्त हुन्छ, बिरामीले उपचार पाउने अधिकारबाट वञ्चित हुन्छन्। विद्यार्थी गुणस्तरीय शिक्षा पाउन रोकिन्छन्। यो अत्यन्त गम्भीर मानव अधिकार उल्लङ्घन हो।”
प्रधानमन्त्री कार्कीले भ्रष्टाचारउन्मूलनलाई सरकारले सर्वोच्च प्राथमिकताका रूपमा लिएको उल्लेख गर्दै त्यसविरुद्ध आवश्यक पर्ने जति कठोर कदम चाल्न आफ्नो सरकार प्रतिबद्ध रहेको बताइन्।
उनका अनुसार पारदर्शिता, जवाफदेहिता र सुशासनबिना मानव अधिकारको संरक्षण सम्भव छैन। “मानव अधिकार कायम राख्न सरकार दृढतापूर्वक अघि बढिरहेको छ,” उनले जोड दिइन्।
मानव अधिकार दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा सरकारी प्रतिनिधि, मानव अधिकारकर्मी तथा नागरिक समाजका व्यक्तिहरूले पनि मानव अधिकार सुनिश्चिततामा सुशासनको महत्त्वबारे आफ्ना धारणा व्यक्त गरेका थिए।












