प्राधिकरणका एमडी शाक्यको पुनर्बहाली : मन्त्रीले पूर्ण सहयोग गर्ने आशा लिएको छु

User Image Prime TV News एक महिना अगाडि
Image of प्राधिकरणका एमडी शाक्यको पुनर्बहाली :  मन्त्रीले पूर्ण सहयोग गर्ने आशा लिएको छु

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्धक निर्देशक हितेन्द्रदेव शाक्यले आफू कार्यकारी निर्देशक भएकै कारण पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले प्राधिकरणबाट हटाएको आरोप लगाए ।

सर्वोच्च अदालतले गैरकानुनी ठहर गरेको सो निर्णयपछि बुधबार शाक्य पुनः प्राधिकरणमा काम गर्न फर्किएका हुन्। मंसिर २४ गते प्राधिकरणको एमडी पदमा औपचारिक रूपमा पुनर्बहाली भएपछि उनले अदालतले न्याय दिएको भन्दै आगामी दिनमा अझै उत्साहका साथ काम गर्ने प्रतिबद्धता जनाए।

पहिलेका उर्जामन्त्री घिसिङले मन्त्रिपरिषद् बैठकमार्फत शाक्यको सरुवा गराएका थिए। तर सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सो कदमलाई ‘पूर्वाग्रही र प्रतिशोधपूर्ण’ भन्दै निर्णय उल्ट्याएको थियो।

अदालतको आदेशअनुसार शाक्यलाई एमडी पदमा पुनःस्थापित गरिएको हो। प्राधिकरणमा पुनःहाजिरपछि शाक्यले आगामी साढे तीन वर्षभित्र निश्चित लक्ष्य पूरा गर्न आफूले योजनाबद्ध रूपमा काम अघि बढाउने बताए। “सरकारको नीति निर्देशनअनुसार प्राधिकरण र मुलुकको हितलाई प्राथमिकता दिनेछु,” उनले भने।

ऊर्जा क्षेत्रबारे आफू र वर्तमान उर्जामन्त्री दुवै परिचित भएकाले सहकार्य सहज हुने उनको अपेक्षा छ। “ऊर्जामन्त्रीज्यू र म दुवै एनईएका क्याडर हौँ। हामीले यो क्षेत्र जराजरा सम्म बुझेका छौँ,” शाक्यले भने। मन्त्रीले पूर्ण सहयोग गर्ने आशा गरेको पनि उनले उल्लेख गरे।