महाधिवेशनलाई नीतिगत बहस भन्दा नेतृत्व चयनमा केन्द्रित बनाउन आवश्यक छः एमाले नेता ज्ञवाली

User Image Prime TV News एक महिना अगाडि
Image of महाधिवेशनलाई नीतिगत बहस भन्दा नेतृत्व चयनमा केन्द्रित बनाउन आवश्यक छः एमाले नेता ज्ञवाली

काठमाडौ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु सान्दर्भिक नहुने बताएका छन्। उनले फेसबुकमा जारी स्ट्याटसमा महाधिवेशनलाई नेतृत्व चयनमा केन्द्रित राख्न सुझाव दिएका छन्।

ज्ञवालीका अनुसार, विगतको अनुभवले देखाएको छ कि नीति र नेतृत्व एउटै मञ्चबाट निर्णय गर्दा नीतिगत बहस ओझेलमा पर्छ। यसै कारण पार्टीले विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशन अलग अलग आयोजना गर्ने व्यवस्था गरेको हो।

यसअघि भदौ २२–२३ गते ललितपुरको गोदावरीमा भएको विधान अधिवेशनले दुई कार्यकाल र ७० वर्षे उमेर हद हटाउने निर्णय गरेको थियो भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण पेन्डिङमा राखिएको थियो। उक्त निर्णयप्रति वरिष्ठ नेता ईश्वर पोखरेल, भण्डारी, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली लगायतले असहमति जनाएका थिए।

ज्ञवालीले स्पष्ट पारेका छन् कि महाधिवेशनबीच यदि राष्ट्रिय राजनीतिमा कुनै परिवर्तन आए वा पार्टी नीतिमा संशोधन आवश्यक भयो भने केन्द्रीय समितिलाई निर्णय गर्ने अधिकार छ। उनले महाधिवेशनको उद्देश्य पार्टी एकता र नेतृत्व चयनमा केन्द्रित रहनुपर्ने बताए। ज्ञवालीले भने, “वस्तुनिष्ठ समीक्षा आवेग र पक्षधरतामा बाँडिएको बेला प्रभावकारी हुँदैन। आरोप प्रत्यारोप र ब्लेम गेममा रूपान्तरित हुन सक्छ।” असहमति भए पनि उनले स्वस्थ, मर्यादित, लोकतान्त्रिक अभ्यास मार्फत पार्टी एकतालाई सुदृढ बनाउन जोड दिएका छन्।