नेपाली कांग्रेसले क्रियाशील सदस्यताको अनिवार्य नवीकरण गर्न निर्देशन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले आफ्नो पार्टीका सम्पूर्ण क्रियाशील सदस्यहरूको सदस्यता अनिवार्य रूपमा नवीकरण गर्न मातहतको सबै तहलाई निर्देशन दिएको छ। बुधबार महामन्त्री गगनकुमार थापाले जारी गरेको परिपत्रअनुसार आवश्यक व्यवस्था गरी सदस्यता नवीकरण पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ।
परिपत्रमा भनिएको छ कि मृत्यु भएका, पार्टी परित्याग गरेका, निष्कासन भएका वा लिखित/मौखिक अनुरोध गरेका सदस्य बाहेक सबै सदस्यहरूको नवीकरण अनिवार्य छ। क्रियाशील सदस्यता व्यवस्थापन समिति सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले भने, “मातहतका समितिहरूले नवीकरण रोक्न नपाउने व्यवस्था र समन्वय गर्नुपर्नेछ। योग्य सदस्यले निवेदन गरेमा केन्द्रबाटै नवीकरण गरिनेछ।”
नवीकरण प्रक्रिया प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा सिधै सदस्यता फारम पठाइने व्यवस्था छ। एक निर्वाचन क्षेत्र भएका जिल्लाले १० पुसभित्र र दुईभन्दा बढी क्षेत्र भएका जिल्लाले ११ पुसभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी नामावली केन्द्रमा पठाउनु पर्नेछ।
महामन्त्री थापाले भने, “नयाँ सदस्यता वितरण पार्टीको विधान, नियमावली र केन्द्रीय कार्यसमितिको निर्णयअनुसार सहज र व्यापक बनाउने नीति अनुसार गर्नुपर्ने छ। मापदण्ड पुगेका सबै व्यक्तिलाई समयमै सदस्यता नवीकरण गरी केन्द्रमा उपलब्ध गराउन यो परिपत्र गरिएको हो।”












