एमालेमा दुई कार्यकालको व्यवस्था पुनः लागू गर्नुपर्छः एमाले सचिव विष्ट
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीको पदमा दुई कार्यकालको सीमा पुनः लागू गर्नु आवश्यक भएको बताएका छन्।
बुधबार काठमाडौँमा आयोजित एमालेको एघारौँ महाधिवेशनसँग सम्बन्धित अन्तर संवाद कार्यक्रममा उनले भने, “दुई कार्यकालको व्यवस्था हटाउँदा समस्या भएको छ। आगामी महाधिवेशनबाट यसलाई पुनः प्रभावकारी बनाउने योजना छ।”
उनले पार्टीमा युवा पुस्ताको सहभागिता बढाउन ४० वर्षमुनिका सदस्यका लागि विशेष कोटा निर्धारण गर्ने पनि प्रस्ताव गरेका छन् । विष्टले भने, “नयाँ पुस्ताले हस्तक्षेप र प्रतिनिधित्व चाहेका छन्। यसका लागि कोटा निर्धारण गरेर केन्द्रीय सदस्य बनाउने पहल गरिनेछ।”
सचिव विष्टका अनुसार, पार्टीमा सुशासन कायम गर्नुपर्नेमा जोड दिने हो भने मात्रै युवा पुस्ताको आकर्षण बढ्नेछ। “जति धेरै सुशासनमा जोड दिइन्छ, युवा सक्रियता र समर्थन त्यति नै बढ्छ,” उनले भने । विष्टले चुनावी तालमेलमा पनि पार्टीले अवसरवाद देखाएको टिप्पणी गरे ।
उनले भने, “राप्रपासँग चुनावी गठबन्धन गरी अवसरवाद देखायौँ। सरकारमा जान कांग्रेस, माओवादी, रास्वपा र राप्रपासहितका दलसँग सहकार्य गर्दा यसले अवसरवादको चरम नमुना प्रस्तुत गर्यो।”













