विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था लागू गरिने छः प्रधानमन्त्री कार्की
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री नै कुलपति नहुने व्यवस्था लागू गर्न सरकार लागिपरेको बताएकी छन्।
बुधबार धुलिखेलमा आयोजित काठमाडौँ विश्वविद्यालयको ३१ औँ दीक्षान्त समारोहमा उनले यस कदमको उद्देश्य विश्वविद्यालयमा राजनीतिकरण अन्त्य गर्नु रहेको स्पष्ट पारेकी हुन्। काठमाडौँ विश्वविद्यालयकी कुलपतिका रूपमा समेत कार्यरत प्रधानमन्त्री कार्कीले सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनको नेतृत्वमा शिक्षाविद्, विश्वविद्यालयका कुलपति, उपकुलपति र अन्य सरोकारवालासँग परामर्श गरिरहेको जानकारी दिइन् ।
उनले भनिन, “पछिल्ला समयदेखि प्रधानमन्त्री नै कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता महसुस भएको छ। संशोधनपछि प्राज्ञिक व्यक्तिले कुलपतिका रूपमा नेतृत्व गर्ने व्यवस्था हुनेछ। यसले नेपालको उच्च शिक्षामा राजनीतिकरणको परम्परा अन्त्य गर्नेछ।”
प्रधानमन्त्री कार्कीले काठमाडौँ विश्वविद्यालयको उच्च शिक्षा सुधारमा खेलेको सकारात्मक भूमिकाको प्रशंसा गर्दै, अन्य विश्वविद्यालयहरूले पनि त्यसको अनुशरण गर्नुपर्नेमा जोड दिइन्।













