काठमाडौँ विश्वविद्यालयमा २२ सय ९ जना विद्यार्थी दीक्षित
Prime TV News एक महिना अगाडि 
काठमाडौ । काठमाडौँ विश्वविद्यालयले बुधबार आफ्नो ३१ औं दीक्षान्त समारोह सम्पन्न गरेको छ।
समारोहमा कुल २२ सय ९ जना विद्यार्थीले स्नातकदेखि पीएचडीसम्मको डिग्री हासिल गरेका छन्। उपकुलपति प्रा.डा. अच्युत वाग्लेका अनुसार, दीक्षितमध्ये १,७२८ जना स्नातक तह, ३९७ जना स्नातकोत्तर तह, ५० जना पीजीडी तह र ७ जना पीएचडी, डीएम तथा एमसीएच तहका विद्यार्थी छन्।
दीक्षितमध्ये पुरुष ५२.२४ प्रतिशत र महिला ४७.७६ प्रतिशत रहेका छन्। त्यस्तै, १७ देशका १९६ जना विद्यार्थी विदेशी रहेको जानकारी दिइयो। स्कूल अफ मेडिकल साइन्सेज ८८१, स्कूल अफ इन्जिनियरिङ ३४०, स्कूल अफ मेनेजमेन्ट ३७८, स्कूल अफ एजुकेसन २९४, स्कूल अफ साइन्स १९७, स्कूल अफ आर्ट्स ८३ र स्कूल अफ ल ३६ जनाले डिग्री हासिल गरेका छन् ।
समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले उच्च शिक्षामा राजनीतिकरण अन्त्य गर्दै प्राज्ञिक व्यक्ति कुलपति हुने व्यवस्था गर्ने योजना अघि बढाइरहेको जानकारी दिइन्। यसै अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सह–कुलपति महावीर पुन पनि उपस्थित थिए।
काठमाडौ विश्वविद्यालयबाट अहिलेसम्म कुल ५०,०४० जना विद्यार्थी दीक्षित भइसकेका छन् । जसमा करिब १२ प्रतिशत विदेशी विद्यार्थी रहेका छन्।












