धादिङ कांग्रेस सभापति अधिकारीले प्रतिनिधिसभा चुनावमा उम्मेदवारी नदिने घोषणा
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले आगामी प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवारी नबन्ने घोषणा गरेका छन्।
धादिङ क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकमा उनले २१ फागुनमा हुन लागेको उपनिर्वाचनका लागि आफू दावेदार नबन्ने स्पष्ट बताएका हुन्। फेसबुकमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा अधिकारीले विभिन्न परिस्थितिलाई मध्यनजर गर्दै चुनावी दौडबाट बाहिरिन निर्णय गरेको बताए। “अनेक सन्दर्भ उठेका छन्, ती सबैलाई हेर्दा यो पटक उम्मेदवारीबाट बाहिरै रहने प्रण मैले गरेको छु,” उनले भने।
यद्यपि उम्मेदवार नबन्ने भए पनि पार्टीलाई जिताउने जिम्मेवारी आफूले नै बहन गर्ने अधिकारीको भनाइ छ। उनले आगामी निर्वाचनमा पनि गाउँ–गाउँ पुगेर नेपाली कांग्रेसका लागि मत माग्ने तयारी रहेको बताए। “तीन वर्षअघि जस्तै अहिले पनि बस्ती–बस्ती पुगेर कांग्रेसलाई जिताउन चाहन्छु,” अधिकारीले बताए ।
अन्तरिक विवादका कारण पार्टी कमजोर नबनोस् भन्दै उनले बैठकमा सम्भव भएसम्म एकजनामात्र उम्मेदवारको नाम सिफारिस गर्न आग्रह गरे। “अहिले विवाद गर्ने समय होइन। विद्रोही उम्मेदवार उठ्ने वातावरण नै सिर्जना हुन नदिऔँ,” उनले भने । साथै उनले पार्टी एकताबद्ध भएर केन्द्रले तोक्ने उम्मेदवारलाई विजयी बनाउन सबै कार्यकर्तालाई जुट्न अधिकारीले आग्रह गरे।













