ओलीले भदौ २३–२४ का घटनाबारे आयोगमा बयान दिनुपर्छः एमाले उपाध्यक्ष पोखरेल

User Image Prime TV News एक महिना अगाडि
Image of ओलीले भदौ २३–२४ का घटनाबारे आयोगमा बयान दिनुपर्छः एमाले उपाध्यक्ष पोखरेल

काठमाडौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ का घटनामा छानबिन गर्न बनेको आयोगमा उपस्थित भएर बयान दिनुपर्ने बताएका छन्। पोखरेल समूहले बुधबार पत्रकारहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा उनले ओलीले आयोगसँग सहयोग गर्नु नै उचित र जिम्मेवार कदम हुने बताए।

पोखरेलले आफू त्यही परिस्थितिमा परेको भए अनिवार्य रूपमा आयोगमा उपस्थित हुने बताए । “केपी शर्मा ओली आयोगमा बयान दिन जानुपर्छ,” उनले दोहोर्‍याउँदै भने, “यो राजनीतिक आचार, पार्टी संस्कार र सत्यतथ्य पहिचान सबैका दृष्टिले आवश्यक छ।”

अध्यक्ष ओलीले भने आयोग अध्यक्ष गौरीबहादुर कार्की आफूप्रति पूर्वाग्रही रहेको आरोप लगाउँदै बयान दिन नजाने अडान लिइरहेका छन्। कार्की नेतृत्वको छानबिन आयोगले भदौ २३ र २४ का घटनाबारे तथ्य सत्य उजागर गर्न सबै पक्षको बयान अपरिहार्य रहेको बताउँदै आएको छ।