नेपाली कांग्रेसले गर्यो केन्द्रीय सदस्यता छानबिन समिति गठन
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता प्रक्रियामा देखिएका विवाद समाधान गर्न केन्द्रिय सदस्यता छानबिन समिति गठन गरेको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमहामन्त्री महेन्द्र यादवको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेका हुन्। समितिमा शिव हुमागाईं, प्रा.डा. गोविन्दराज पोखरेल, अजयबाबु सिवाकोटी र शान्ति परियार बिक सदस्यका रूपमा रहेका छन्।
कांग्रेसको विधानअनुसार वडास्तरबाट संकलित क्रियाशील सदस्यता पालिका, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रमा पठाइन्छ। त्यसपछि केन्द्रीय सदस्यता व्यवस्थापन समितिले सो विवरण छानबिन समितिलाई बुझाउने छ।
छानबिन समितिले दाबी विरोध, उजुरी र देखिएका अनियमितता अध्ययन गरी निर्णय बनाएपछि फिर्ता व्यवस्थापन समितिलाई बुझाउने प्रावधान छ। समायोजन भएर तयार हुने अन्तिम नामावली नै पार्टीका वडास्तरका आन्तरिक निर्वाचनका मतदाता सूचीका रूपमा प्रयोग हुनेछ।
हाल केन्द्रीय सदस्यता व्यवस्थापन समितिको संयोजक महामन्त्री गगन थापा छन्। थापा नेतृत्वको समितिले देशभरिबाट आएका विवरण छानबिन समितिमा पठाएपछि अन्तिम सूची तयार गर्ने काम औपचारिक रूपमा अघि बढ्नेछ ।












