राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक दोस्रो दिन पनि जारी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक दोस्रो दिन पनि धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा जारी रहेको छ।
बुधबारबाट सुरु भएको बैठकको पहिलो दिन विभिन्न शीर्ष नेताहरूले सम्बन्धित प्रतिवेदनहरू प्रस्तुत गरेका थिए। अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए भने वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले सक्रिय सदस्यता वितरण निर्देशिकासम्बन्धी प्रतिवेदन पेस गरेका थिए।
त्यसैगरी उपाध्यक्ष हेमजङ्ग गुरुङले प्रस्तावित महाधिवेशन कार्यतालिका प्रस्तुत गरे। महामन्त्री तथा सचिवालय प्रमुख राजेन्द्र गुरुङले सचिवालयसम्बन्धी प्रतिवेदन राखे भने कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक तथा लेखा परीक्षणसम्बन्धी प्रतिवेदन पेश गरेका थिए।
आजको बैठकमा केन्द्रीय सदस्यहरूले ती प्रतिवेदनहरूमा आफ्नो धारणा राखिरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। बैठकले प्रतिवेदनहरूबारे आवश्यक निर्णय र आगामी राजनीतिक कार्यक्रम तथा पार्टी गतिविधिहरूका बारेमा थप कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।













