ओलीमाथि मिडिया ट्रायल भइरहेको दाबी, बस्नेतले दिए प्रतिकार गर्ने चेतावनी

User Image Prime TV News २ महिना अगाडि
Image of ओलीमाथि मिडिया ट्रायल भइरहेको दाबी, बस्नेतले दिए प्रतिकार गर्ने चेतावनी

काठमाडौ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध विभिन्न माध्यममार्फत योजनाबद्ध रूपमा ‘षड्यन्त्र’ अघि बढिरहेको दाबी गरेका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै बस्नेतले पछिल्ला गतिविधिहरू एउटै उद्देश्यअनुरूप भइरहेका संकेत देखिएको उल्लेख गरेका छन्।

बस्नेतले एमाले नेता ईश्वर पोखरेलले पत्रकार सम्मेलनमा गरेको अभिव्यक्ति, पूर्व राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भएको भनिएको भेट, तथा सामाजिक सञ्जाल र मिडियामा केही सेलिब्रेटीले फैलाएको हल्लासमेत एउटै श्रृंखलाको गतिविधि भएको टिप्पणी गरेका हुन् ।

उनले दुई दिनअघि पूर्व राष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिचको भेटमा ओलीलाई गिरफ्तार गर्ने विषयसमेत उठान गरिएको दाबी गरे। यस्तै ‘जेनजी समूह’ को नाममा गरिएको वार्ता तथा केही कलाकारले चलाएको गलत हल्ला “मिडिया ट्रायल” को रूपमा अघि बढेको बस्नेतको आरोप छ।

बस्नेतले भने, “एमाले महाधिवेशन भाँड्ने, त्रास फैलाउने, सहभागीता घटाउने र अन्त्यमा अध्यक्ष ओलीको लोकप्रियता कमजोर पार्ने उदेश्यले यी गतिविधि सञ्चालन गरिएका छन्। तर यस्ता कुनै पनि चाल सफल हुने छैन।”