११ औँ राष्ट्रिय महाधिवेशनलाई गुटबन्दी अन्त्य गर्छः उपमहासचिव गुरुङ

User Image Prime TV News एक महिना अगाडि
Image of ११ औँ राष्ट्रिय महाधिवेशनलाई गुटबन्दी अन्त्य गर्छः उपमहासचिव गुरुङ

काठमाडौ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनलाई गुटबन्दी अन्त्य गर्दै पार्टी तथा राष्ट्र दुवैलाई नयाँ मार्गमा डोर्याउने ऐतिहासिक अवसर भएको बताएका छन्। राजनीतिक अस्थिरता र अन्योलले ग्रस्त वर्तमान परिस्थितिमा आयोजना हुन लागेको महाधिवेशनलाई उनले संगठन मजबुत बनाउने निर्णायक मोडका रूपमा व्याख्या गरेका छन्।

गुरुङले महाधिवेशन केवल पदाधिकारी चयनको औपचारिक प्रक्रिया मात्र नभइ, वैचारिक स्पष्टता, सांगठनिक सुदृढीकरण र राष्ट्रिय समृद्धिको दीर्घकालीन मार्गचित्र निर्माण गर्ने महत्वपूर्ण भेला भएको बताए । ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सक्षम नेतृत्व तथा नीतिको खाँचो परिरहेको उल्लेख गर्दै महाधिवेशनले त्यो आवश्यकता पूरा गर्ने विश्वास व्यक्त गरे।

एमाले आज देशको प्रमुख राजनीतिक शक्ति बन्न प्रतिनिधिहरूको निरन्तर जोश, जाँगर र सङ्घर्षको महत्वपूर्ण योगदान रहेको भन्दै उनले सहभागीहरूको सक्रियता र जिम्मेवारीबोधले पार्टीलाई अझ एकताबद्ध, जुझारु र प्रभावशाली बनाउने अपेक्षा व्यक्त गरे।

उपमहासचिव गुरुङले पार्टीभित्रको आन्तरिक एकता मजबुत बनाउँदै राष्ट्रिय समस्याको समाधानतर्फ अग्रसर हुनु अहिलेको प्रमुख चुनौती भएको उल्लेख गर्दै महाधिवेशनबाट एमालेले देशलाई स्थिरता र विकासको नयाँ दिशा दिने प्रतिबद्धता जनाए।