अमेरिकाले धनी विदेशीका लागि ‘गोल्ड कार्ड’ भिसा योजना ल्यायो
Prime TV News २ महिना अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्थिक रूपमा सक्षम विदेशीलाई छिटो नागरिकता पाउने नयाँ भिसा कार्यक्रम ‘गोल्ड कार्ड’ सुरु गरेका छन्। यो योजना विशेषगरी त्यस्ता व्यक्तिका लागि हो जसले अमेरिकालाई महत्त्वपूर्ण आर्थिक लाभ पुर्याउन सक्छन्।
ट्रम्पका अनुसार, गोल्ड कार्डले योग्य र परीक्षण गरिएका व्यक्तिलाई रेकर्ड समयमा अमेरिकी बसोबास प्राप्त गर्ने प्रत्यक्ष बाटो दिन्छ। योजना अनुसार, कम्तिमा १० लाख डलर तिर्न सक्ने विदेशीले यस भिसाको लागि आवेदन दिन सक्नेछन्।
व्यवसायीहरूले आफ्ना कर्मचारीलाई स्पोन्सर गर्न २० लाख डलर तिर्नुपर्नेछ भने, थप सुविधा दिने ‘प्ल्याटिनम’ संस्करण पनि आउँदैछ, जसका लागि ५० लाख डलर शुल्क तिर्नुपर्ने छ। ट्रम्पले भनेका छन्, “जसले ५० लाख डलर तिर्छ, उनीहरूले रोजगारी सिर्जना गर्छन्, र यसले अमेरिकालाई प्रत्यक्ष लाभ पुर्याउँछ।”
यो घोषणा त्यस्तो समयमा भएको छ जब अमेरिकी प्रशासनले अध्यागमन नीति कडा बनाउँदै, कागजातविहीन आप्रवासीलाई देश निकाला गर्दैछ। अहिले अमेरिकाले १९ देशका नागरिकको अध्यागमन आवेदन रोकिदिएको छ । जसमा मुख्य रूपमा अफ्रिका र मध्यपूर्वका देशहरू पर्दछन्।
योजना आलोचकहरूले धनी व्यक्तिलाई मात्रै लाभ दिने र साधारण आवेदकलाई बेवास्ता गर्ने बताइरहेका छन्। ट्रम्पले गोल्ड कार्डलाई ग्रिन कार्डको उच्च संस्करण, विशेषगरी उच्च पेसाकर्मीका लागि लक्षित भएको बताएका छन्।
अमेरिकामा विदेशी कामदार र विद्यार्थीहरूमा पनि पहिले नै एच-१बी भिसा शुल्क वृद्धि र अन्य अध्यागमन कडाइका कारण चासो र असन्तोष छ। गोल्ड कार्ड योजना ट्रम्प प्रशासनको आर्थिक शक्ति भएका आप्रवासीलाई प्रोत्साहित गर्ने रणनीतिको हिस्सा भएको देखिन्छ।













