रवि र छविको सहकारी ठगी मुद्दा फेरि स्थगित
Prime TV News २ महिना अगाडि 
बुटवल । रास्वपा सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीसँग सम्बन्धित सहकारी ठगी मुद्दा आज फेरि स्थगित भएको छ। न्यायाधीश सागर विष्टको आफन्त जाहेरवाला कानुन व्यवसायी परेकाले सुनुवाइ अघि बढाउन नसकिने अदालतले जनाएको छ।
लामिछाने र जोशी दुबै बुटवलको सुप्रिम सहकारी संस्थामा भएको ठगी र सङ्गठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा छन्। कात्तिक १३ गतेदेखि लगातार पेसी भइरहेको यो मुद्दामा अदालतले पटक–पटक स्थगन गरिसकेको छ। यसअघि दुई पटक रविका कानुन व्यवसायीले निवेदन दिएका थिए भने गत बिहीबार सार्वजनिक बिदाका कारण सुनुवाइ रोकिएको थियो।
लामिछानेले सहकारीमा भएको आफ्नो हिस्साको बिगो रकम दाखिला गरेका थिए। तर, जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले उनलाई साउन २६ गते रिहा गर्न अस्वीकार गरेपछि उनी पुर्पक्षका लागि थुनामा रहेका छन्।
बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरिएको छ। लामिछानेले आफ्नो भागको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतसहित पेश गरेका थिए भने जोशीले पनि आफ्नो भागको जमानत पेश गरेका छन्।
हाल दुवै प्रतिवादी पुर्पक्षका लागि कारागारमा छन्। लामिछानेलाई ललितपुरको नख्खु कारागारमा सरुवा गरिएको छ भने जोशी भैरहवा कारागारमै रहेका छन्।













