आयोगमा वयान दिन जाने नजाने विषय आफ्नो व्यक्तिगत निर्णय होः केपी ओली
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक र गैरकानुनी भन्दै कडा शब्दमा आलोचना गरेका छन्। बिहीबार मंसिर २५ गते काठमाडौंमा सञ्चार माध्यमका सम्पादकहरूसँग गरिएको छलफलमा उनले जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोग र सरकारका हालका गतिविधिबारे प्रश्न उठाए।
ओलीले आयोगमा बयान दिन जाने नजाने विषय आफ्नो व्यक्तिगत निर्णय भएको उल्लेख गर्दै आयोगको वास्तविक मनसाय सदस्यहरूले सञ्चारमाध्यममा व्यक्त गरेका अभिव्यक्तिबाट नै प्रष्ट भइसकेको दाबी गरे। उनले भने, “कानुनी प्रावधान मैले पनि हेरिरहेको छु। आयोगका सदस्यहरुले मिडियामा जे बोलेका छन्, त्यसैले धेरै कुरा स्पष्ट हुन्छ।”
उनले अन्तरिम सरकारको हैसियतमा रहेको कार्की नेतृत्वको वर्तमान मन्त्रिपरिषद्लाई “असंवैधानिक” भन्दै राष्ट्रपतिले निर्वाचन गराउन भन्दै गरेको नियुक्तिलाई गलत अर्थ्याउन नहुने बताए । “प्रधानमन्त्रीलाई राष्ट्रपतिले निर्वाचन गराउन नियुक्त गर्नु भएको हो। कुनै संस्थाको संरचना मास्ने अधिकार यो सरकारले पाउँदैन,” उनले बताए।
ओलीले वर्तमान राजनीतिक परिस्थितिमा सावधानीपूर्वक अघि बढ्न सरकारले ध्यान दिनुपर्ने टिप्पणी गर्दै समय सधैं एउटै रहँदैन भन्ने चेतावनी पनि दिए।













