जेनजी र सरकार सम्झौता ‘भद्दा नाटक’ भएको ओलीको आरोप
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलन र सरकारबीच भएको पछिल्लो सम्झौतामाथि कडा प्रहार गर्दै त्यसलाई “कलाविहीन भद्दा नाटक”को संज्ञा दिएका छन्। बिहीबार मंसिर २५ गते काठमाडौंमा सम्पादकहरूसँगको संवादका क्रममा ओलीले वर्तमान सरकारले आफ्नो अधिकार सीमाभन्दा बाहिर गएर निर्णय गरिरहेको आरोप लगाए।
उनले अन्तरिम स्वरूपमा रहेको सरकारले कुनै संरचना, प्रणाली वा शासन व्यवस्थासँग सम्बन्धित सम्झौता गर्ने वैधानिक म्यान्डेट नै पाएको छैन। “कसरी, कसले यस्तो अधिकार दियो? प्रणाली परिवर्तनजस्तो विषयमा सम्झौता गर्ने हैसियत यो सरकारले राख्दैन,” ओलीले प्रश्न उठाए।
ओलीले सरकार र जेनजीबीच भएको भनिएको सम्झौता राजनीतिक रूपमै अस्वीकार भइसकेको दाबी गर्दै त्यसबारे धेरै बोल्न पनि आवश्यक नभएको बताए। उनका अनुसार सम्झौता गठन भएको ठाउँमै “च्यातेर फ्याँकिएको” छ।
राजनीतिक गतिरोधतर्फ संकेत गर्दै उनले वर्तमान सरकारले निर्वाचन गराउने क्षमता वा वातावरण कुनै पनि हिसाबले नभएको जिकिर गरे। यस्तो परिस्थितिमा एकमात्र विकल्प संसद पुनर्स्थापना भएको उनको भनाइ थियो।
“अब चुनाव सम्भव छैन, सरकार सक्षम छैन। संवैधानिक बाटो भनेको संसद पुनर्स्थापना नै हो,” उनले भने।













