पुनर्बहालीपछि शाक्यको पहिलो औपचारिक भेट: मन्त्री घिसिङले ‘द्वन्द्व होइन, परिणाम’मा ध्यान दिन निर्देशन
Prime TV News २ महिना अगाडि 
काठमाडौ । सर्वोच्च अदालतको परमादेशपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङसँग भेटवार्ता गरेका छन्। बुधबार प्राधिकरणमा पुनः हाजिर भएर पदबहाली गरेका शाक्यको यो मन्त्रीसँगको पहिलो औपचारिक भेट हो।
अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई कार्यकारी निर्देशकको रूपमा पुनर्बहाली गर्न आदेश दिएपछि प्राधिकरणमा नेतृत्व परिवर्तन फेरि उल्टिएको हो। अदालतको आदेश लागू भएपछि शाक्यले ऊर्जा मन्त्री घिसिङ र सचिव चिरञ्जीवी चटौतलाई आफू पदभार सम्हालेको औपचारिक जानकारी गराएका थिए।
भेटमा मन्त्री घिसिङले शाक्यलाई विगतका घटनाहरू सम्झाउँदै अब विवाद वा आन्तरिक तनाव झन् बढाउनेतर्फ होइन, प्राधिकरणको परिणाममुखी सुधारमा केन्द्रित हुन निर्देशन दिए। घिसिङले शाक्यलाई बाहिरी प्रभाव, नेटवर्क वा व्यक्तिगत सम्बन्धभन्दा बाहिर बसेर सरकार र प्राधिकरणको हितका लागि काम गर्न आग्रह गरेका छन्।
सबै सरोकारवालाको गुनासो सुन्ने, आवश्यक सामग्री र स्रोतको अभाव नपर्ने वातावरण बनाउने तथा चुनौती आए पनि ‘विश्वास दिलाउने प्रकारको नेतृत्व’ प्रदर्शन गर्न उनले निर्देशन दिएका छन्। मन्त्रीसँगको छलफलपछि शाक्यले आफू विगतमा पनि मिलेर काम गर्ने पक्षमा रहेको भन्दै आगामी दिनमा अझ बढी प्रतिबद्धता, सक्रियता र परिणाममुखी कार्यशैली अपनाउने आश्वासन व्यक्त गरेका छन्।













