भिजिट भिसा प्रकरण: पूर्व गृहमन्त्री रमेश लेखकसहित उच्च अधिकारीमाथि अख्तियारको छानबिन

User Image Prime TV News एक महिना अगाडि
Image of भिजिट भिसा प्रकरण: पूर्व गृहमन्त्री रमेश लेखकसहित उच्च अधिकारीमाथि अख्तियारको छानबिन

काठमाडौ । भिजिट भिसा दुरुपयोग प्रकरणका बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकमाथि समेत औपचारिक रूपमा अनुसन्धान अघि बढाएको छ ।

विशेष अदालतमा पेश गरिएको अभियोगपत्रमार्फत अख्तियारले यस प्रकरणमा उच्च सरकारी तहसम्म गैरकानुनी लेनदेन र दुरुपयोगको शंकाका आधारमा विस्तृत छानबिन भइरहेको जनाएको हो।

अख्तियारका अनुसार तत्कालीन गृहमन्त्री लेखकसँगै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराई, शान्ति सुरक्षा हेर्ने महाशाखाका प्रमुखसहितका अधिकारीहरू भिजिट भिसा प्रक्रियामा बदनियतपूर्ण सेटिङ र अवैध रकम आदान–प्रदानमा संलग्न हुनसक्ने आशंकामा अनुसन्धानको दायरामा रहेको बताइएको छ ।

अख्तियारले गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख, शाखा प्रमुख, गृहमन्त्रीका निजी तथा स्वकीय सचिव, गृहसचिवको सचिवालयका कर्मचारीसहित अन्य केही अधिकारीहरूको गतिविधि पनि अनुसन्धानमै रहेको बताएको छ।

विशेष अदालतमा दर्ता गरिएको अभियोगपत्रमा गृहमन्त्रीका निजी सचिव बद्रि तिवारी र स्वकीय सचिव जनक भट्टसमेतमाथि छानबिन भइरहेको उल्लेख छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईसँग सम्बन्धित कल रेकर्ड डिटेल विश्लेषण गर्दा “अस्वाभाविक पहल र शंकास्पद गतिविधि” देखिएको अख्तियारले जनाएको छ।

उक्त गतिविधि गृहमन्त्री र सचिवालयका केही व्यक्तिहरूसँग मेल खान सक्ने देखिएको भन्दै भिजिट भिसा प्रक्रियामा गैरकानुनी समन्वय भएको आशंकामा अनुसन्धान बढाइएको हो। अख्तियारले अदालतमा पेश गरेको दस्तावेजमा यस प्रकरण एकै घटनामा सीमित नभई, फरक–फरक समय, घटना र संलग्न व्यक्तिहरूका आधारमा छुट्टाछुट्टै अनुसन्धान भइरहेको उल्लेख छ।