नेपाल प्रिमियर लिग : लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच उपाधिका लागि भिडन्त हुने

User Image Prime TV News २ महिना अगाडि
Image of नेपाल प्रिमियर लिग : लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच उपाधिका लागि भिडन्त हुने

काठमाडौ । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुने भएका छन्। फाइनल खेल शनिबार दिउँसो साढे ३ बजे हुनेछ। दुवै टोली अहिले उत्कृष्ट लयमा छन् र नयाँ च्याम्पियन जन्मिने निश्चित भइसकेको छ।

लुम्बिनी लायन्सले बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै पहिलो पटक उपाधि नजिक पुगेको हो। लिगको चौथो स्थानबाट एलिमिनेटर खेल्न बाध्य लुम्बिनीले काठमाडौँ गोर्खाजलाई हराउँदै दोस्रो क्वालिफायरसम्मको यात्रा बनाएको थियो।

लिग चरणमा पहिलो खेल जितेपछि लगातार तीन खेलमा नराम्रो पराजय बेहोरेको लुम्बिनीले त्यसपछि देखाएको पुनरागमन गरेको हो। टोलीले पछिल्ला पाँच खेलमा लगातार जित दर्ता गर्दै आफ्नो बलियो उपस्थिति पुनः स्थापित गर्‍यो। ब्याटिङ उतारचढावपूर्ण देखिए पनि बलिङ पक्ष अत्यन्त अनुशासित र प्रभावकारी बनेको छ, जसले टोलीलाई फाइनलसम्म पुर्‍याएको हो।

उता विराटनगर किंग्सको यात्रा भने निराशाजनक रुपमा टुंगियो। लगातार दुई क्वालिफायर खेल्दै दुवैमा हार्नु विराटनगरका लागि अत्यन्तै खराब नतिजा सिद्ध भयो। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएको टोलीले दोस्रो अवसर पनि उपयोग गर्न सकेन र लुम्बिनीसँग पराजित हुँदै बाहिरियो।

साबिक विजेता जनकपुर बोल्ट्स लिग चरणमै बाहिरिइसकेकाले यसपटक एनपीएलले नयाँ च्याम्पियन पाउनेछ।