जेनजी आन्दोलनको क्षति ८४ अर्ब नाघ्यो, पुनर्निर्माणका लागि ३६ अर्बभन्दा बढी बजेट आवश्यक

User Image Prime TV News एक महिना अगाडि
Image of जेनजी आन्दोलनको क्षति ८४ अर्ब नाघ्यो, पुनर्निर्माणका लागि ३६ अर्बभन्दा बढी बजेट आवश्यक

काठमाडौ । जेनजी आन्दोलनले देशभर पारेको विनाशको औपचारिक मूल्यांकन सार्वजनिक भएको छ।

सार्वजनिक संरचना, निजी सम्पत्ति तथा मानव क्षतिसहित सबै पक्ष समेटेर तयार गरिएको प्रतिवेदन समितिले ७५ दिनको कामपछि प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ। प्रतिवेदनले आन्दोलनको असर सामान्य नभई अत्यन्तै गम्भीर रहेको देखाएको छ।

राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थको संयोजकत्वमा असोज ५ गते गठित समितिले बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रतिवेदनको सारांश प्रस्तुत गरेको थियो। समितिको अध्ययनअनुसार सातै प्रदेश प्रभावित बने, ५४ जिल्ला र २६२ स्थानीय तहमा क्षति पुगेको छ।

भदौ २३ देखि २५ सम्मको तीन दिनमै ७७ जनाले ज्यान गुमाए। २ हजार ४२९ जना घाइतेमध्ये १७ बालबालिका र १४३३ युवा रहेका छन्, जसले आन्दोलनले सबभन्दा बढी सक्रिय उमेर समूहलाई चोट पुर्याएको देखाउँछ।

भौतिक संरचनामा भएको विनाश झनै भारी छ। समितिको मूल्यांकनअनुसार कुल क्षति ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ पुगेको छ। २१६८ निकाय/संस्था प्रभावित हुँदा २६७१ भवनमा क्षति पुगेको छ, जसको मूल्य करिब ३९ अर्ब ३१ करोड रुपैयाँ बराबर छ।

१२ हजार ६५९ सवारीसाधन नोक्सानमा पर्दा करिब १२ अर्ब ९३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। सरकारी तथा सार्वजनिक क्षेत्रको कुल क्षति ४४ अर्ब ९३ करोड रुपैयाँ छ, जहाँ संघीय सरकारले मात्रै ६८ प्रतिशत क्षति बेहोर्‍यो।

निजी क्षेत्रमा ३३ अर्ब ५५ करोड रुपैयाँ बराबर नोक्सान पुगेको छ, र सामुदायिक तथा अन्य क्षेत्रमा ५ अर्ब ९७ करोड रुपैयाँको क्षति देखिएको छ।

समितिले पुनर्निर्माणको विस्तृत कार्ययोजनासमेत पेस गरेको छ। प्रभावित संरचना मर्मत, पुनर्स्थापना र निर्माणका लागि करिब ३६ अर्ब ३० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।

प्रतिवेदनले जेनजी आन्दोलनले देशको सामाजिक, आर्थिक र प्रशासनिक संरचनामा गहिरो चोट पुर्‍याएको स्पष्ट गरेको छ।