एमाले सचिवालय बैठक बस्दै, विधान संशोधन एजेन्डामा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेले दिउँसो १ बजेका लागि सचिवालय बैठक बोलाएको छ।
उपमहासचिव पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकमा आगामी महाधिवेशनअघि आवश्यक ठहरिएका प्रमुख विषयहरू विशेषगरी विधान संशोधन र प्रतिनिधि मनोनयनका बिषयमा निर्णय लिन सचिवालयको बैठक बस्न लागेको हो ।
एमालेले यसपटक पदाधिकारी संख्या र केन्द्रीय समितिको आकार पुनः बढाउने प्रस्ताव राख्ने तयारी गरेको छ। हाल १५ पदाधिकारीको व्यवस्था छ, जुन भदौ २०–२२ मा ललितपुरमा सम्पन्न दोस्रो विधान महाधिवेशनले १९ बाट घटाएर १५ मा सीमित गरेको थियो।
सोही महाधिवेशनले स्थायी कमिटी खारेज गर्दै पोलिटब्युरो र केन्द्रीय समिति दुवैलाई छोट्याउने निर्णय गरेको थियो। अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पंक्तिमा पदाधिकारी चाहना भएकाहरू धेरै भएपछि व्यवस्थापनका लागि विधान संशोधनको बाटो लिएको बताइन्छ।
यता अध्यक्ष पदका आकांक्षी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्ष भने अलगै धारमा उभिएको छ। उनीहरूले संशोधन प्रस्ताव आउँने हो भने एमालेले हटाइसकेको दुई कार्यकाल प्रावधान पुनर्जीवित गर्नुपर्ने माग सचिवालयमा राख्ने तयारी गरेका छन्।
गत सोमबार बैठक बस्ने तयारी भए पनि पोखरेलले अवधारणा पत्र बुझाएपछि छलफल रोकिएको थियो। उक्त अवधारणा पत्रबारे प्रश्न उठ्ने निश्चित भएपछि अध्यक्ष ओलीले बैठक तीन दिन स्थगित गरेका थिए।
महाधिवेशनको उद्घाटन सत्र सुरु हुनुअघि नै बोलाइएको यो बैठकलाई पार्टीभित्रका शक्ति–समिकरण तथा नेतृत्व संरचनाको निर्णायक मोडका रूपमा हेरिएको छ।
आगामी शनिबारदेखि सुरु हुने ११ औँ महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनयन गर्ने विषयमा पनि यही बैठकले टुंगो लगाउने छ ।













