एनपीएलमा भोली कप्तान र उपकप्तानबिच प्रतिस्पर्धा हुँदै
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपाल प्रिमियर लिगको फाइनल भोली हुँदैछ।
उपाधिमा दाबेदारी पेश गर्न लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स एक–अर्कासँग भिड्नेछन्। खेल दिउँसो ३:३० बजेबाट सुरु हुनेछ। दोस्रो क्वालिफायरमा बिहीबार लुम्बिनीले विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।
त्यसअघि पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगरलाई ७७ रनले हराउँदै उपाधि भिडन्तमा स्थान सुरक्षित गरिसकेको थियो। कप्तान र उपकप्तानको प्रतिस्पर्धा फाइनलको केन्द्रीय आकर्षण लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीबीचको प्रत्यक्ष भिडन्त हो। दुई राष्ट्रिय खेलाडीबीचको उपाधि संघर्षले फाइनलप्रतिको चासो अझै बढाएको छ। लुम्बिनीले समूह चरणको अन्त्यतिर पुनरागमन गर्दै लगातार ६ खेल जितेर फाइनलसम्मको बाटो बनाएको हो। सुदूरपश्चिमले समूह चरणमा एउटा मात्र हार ब्यहोरेको थियो। रोहित राष्ट्रिय टिमका कप्तान हुन् भने दीपेन्द्र उपकप्तान हुन्। नेपालको क्रिकेट लिगको फाइनलमा कप्तान र उपकप्तानको भिडन्तलाई धेरै चासोका रुमा हेरिएको छ। अब कप्तानको कि उपकप्तानको जित हुने हो त्यसका लागि शनिबार साँझसम्म प्रतिक्षा गर्नुपर्ने छ।












