ओली नेतृत्वमा लोकतान्त्रिक प्रक्रिया अवरुद्ध भयोः सुरेन्द्र पाण्डे
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमालेभित्रको लोकतान्त्रिक प्रक्रिया अवरुद्ध भएको आरोप लगाएका छन्। शुक्रबार, ईश्वर पोखरेल समूहका युवा नेताहरूले आयोजना गरेको कार्यक्रममा बोल्दै पाण्डेले यस्तो टिप्पणी गरेका हुन्।
पाण्डेले ओलीको नेतृत्वमा पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बनेको र यसको प्रक्रियामा अनियमितता भएको दाबी गरे। उनले भने, "हामीले पार्टीमा प्रतिस्पर्धा गरेर नेतृत्वको श्रेष्ठता प्रमाणित गर्नुपर्छ भन्ने मूल मान्यतामा विश्वास गरेका थियौँ। तर, ओलीले यसलाई बेवास्ता गरेका छन्।"
पाण्डेले ओलीको नेतृत्वमा पार्टीको विधानको उल्लंघन भएको आरोप लगाउँदै भने, “आठौँ महाधिवेशनमा प्रस्ताव गरिएको पार्टी विधानअनुसार, एक व्यक्ति दुई पटकभन्दा बढी पार्टीको प्रमुख बन्नु हुँदैन र ७० वर्ष उमेरभन्दा माथिका नेताहरूलाई नेतृत्वमा राख्नु हुँदैन भन्ने व्यवस्था थियो। यसलाई ओलीले आज स्वयं उल्लंघन गरिरहेका छन्।”
पाण्डेले पार्टीका अध्यक्ष ओलीले नवौँ महाधिवेशनमा गरेको एकपटक मात्र नेतृत्व गर्ने घोषणाको उल्लंघन गरिएको टिप्पणी गरे। “यसले पार्टीको लोकतान्त्रिक प्रक्रिया र व्यवस्थामा ठूलो समस्या ल्याएको छ,” उनले भने।
पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता मुद्दामा पनि ओलीले अस्पष्टता देखाएको पाण्डेले दाबी गरे। उनले भने, "ओलीले पहिला भण्डारीको सदस्यता मिल्ने कुरा भने, तर पछि यसलाई उल्टाए। यसले पार्टीभित्रका असमझदारी र अस्थिरता जनाउँछ।"












