कर्ण थापाको चेतावनीः 'संयमता र शान्तिको लोटा फुटाउने कोसिस भए, उद्दण्डहरूको घैँटो फुट्न सक्छ'
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका नेता कर्णबहादुर थापाले पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रिया र स्वस्थ प्रतिस्पर्धा सुनिश्चित नगरी केन्द्रीय कमिटी गठन गर्ने कार्यको विरोध गरेका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा नगर्ने भन्दै उनले यसो बताएका हुन् । "संयमता र शान्तिको लोटा फुटाउने कोसिस भए…" कार्यक्रममा बोल्दै थापाले ओली नेतृत्वको आलोचना गर्दै भने, "यदि हाम्रो संयतता र शान्तिको लोटा फुटाउने कोसिस भए भने उद्दण्डहरूको घैँटो फुट्न सक्छ।"
उनले पार्टीमा परिवर्तन ल्याउने र जबजको मर्मअनुसार पार्टीलाई चलाउने चाहना व्यक्त गरे। थापाले पार्टीको आन्तरिक असन्तोष र विवादलाई सम्बोधन गर्दै भने, "हामीले पार्टीमा लोकतान्त्रिक प्रक्रिया र स्वस्थ प्रतिस्पर्धा चाहिरहेका छौं, तर अहिलेको अवस्थामा त्यो सम्भव देखिँदैन।"
थापाले महाधिवेशनमा पार्टीको केन्द्रीय कमिटी गठन प्रक्रिया सम्बन्धी आपत्ति जनाए। उनका अनुसार, ओलीले महाधिवेशनमा प्रतिस्पर्धाको वातावरण सिर्जना नगरी लिस्ट पढेर कमिटी गठन गर्न लागेको आरोप लगाएका छन्।
उनले भने, "महाधिवेशनमा सबैलाई समान अवसर मिल्नुपर्छ, तर यहाँ लिस्टिङको माध्यमबाट केही न केही पक्षपाती निर्णयहरू भइरहेका छन्।" नेता थापा ईश्वर पोखरेल समूहसँग निकट रहेको मानिन्छन् र महाधिवेशनमा ओली र पोखरेल समूहबीच प्रतिस्पर्धा हुने संभावना उच्च छ ।












