एमालेको ११औं महाधिवेशन तयारी पूरा, पहिलो पटक कलात्मक मञ्च बनाइने

User Image Prime TV News एक महिना अगाडि
Image of एमालेको ११औं महाधिवेशन तयारी पूरा, पहिलो पटक कलात्मक मञ्च बनाइने

काठमाडौ । नेकपा एमालेले आगामी ११औं महाधिवेशनको तयारी पूरा भएको र यसपटकको महाधिवेशनमा ऐतिहासिक स्तरको विशेष मञ्च बनाइने जानकारी दिएको छ।

पार्टीका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले शुक्रबार भक्तपुरको सल्लाघारीमा आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनका तयारी र योजनाबारे जानकारी दिएका हुन् । डा. भट्टराईका अनुसार, महाधिवेशनको उद्घाटन समारोहमा १०८ रोपनी क्षेत्रफलको चौरमा करिब तीन लाखजनाको उपस्थिति रहने अनुमान गरिएको छ।

यसपटकको महाधिवेशनमा विशेष रूपले कलात्मक मञ्च बनाइने भएकोले, यो महाधिवेशन ऐतिहासिक हुने अपेक्षा गरिएको छ। उनले भने, "हामी यस महाधिवेशनमा नयाँ विचार र परम्पराको संगम गर्न चाहन्छौं।"

महाधिवेशनले संविधान खारेज गर्ने प्रयासका बिरुद्ध निर्णायक जवाफ दिने बताए । उनले भने, "केही शक्तिहरू संविधान खारेज गर्न लागिपरेका छन्। ११औं महाधिवेशनले यस विषयमा निर्णायक जवाफ दिनेछ र पार्टीको स्थिरता र राष्ट्रिय एकताका लागि मज़बूत कदम चाल्नेछ।"

महाधिवेशनमा प्रदर्शनका लागि करिब २०० भन्दा बढी वेशभूषाका झाँकी समेत प्रस्तुत गरिने बताइएको छ । सांस्कृतिक पहिचानलाई सम्मान गर्दै यस पटक विशेष सांस्कृतिक कार्यक्रम र झाँकीहरूको प्रदर्शनी हुने बताइएको छ ।

यस्तै महाधिवेशनमा एमालेले विदेशी अतिथिहरूलाई निमन्त्रणा नगरेको भए पनि, विभिन्न भ्रातृत्व र कूटनीतिक सम्बन्ध भएका देशका पार्टीहरूले शुभकामना सन्देश पठाएका छन्। डा. भट्टराईले भने, "भ्रातृत्व, मैत्रीपूर्ण र कूटनीतिक सम्बन्ध भएका देशका पार्टीहरूले महाधिवेशनका लागि शुभकामना सन्देश पठाएका छन्, जसले महाधिवेशनको महत्त्व र नेपालको राजनीतिक परिप्रेक्ष्यमा यसका प्रभावलाई पुष्टि गर्छ।"