अन्तरनिर्वाचन क्षेत्रमा बसोबास गर्नेलाई मतदान व्यवस्थापनको लागि कानुनी संशोधन तयारी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाल सरकारले अन्तरनिर्वाचन क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूका लागि नयाँ मतदान व्यवस्थापनको तयारी गरिरहेको छ।
यसका लागि निर्वाचन आयोगले कानुन संशोधनको प्रक्रिया अगाडि बढाएको जनाएको छ। आयोगका सूचना अधिकारी कुलबहादुर जिसीका अनुसार, यस विषयमा विज्ञहरूसँग सल्लाह लिने काम भइरहेको छ र सरकार विदेशमा रहेका नेपाली नागरिक तथा अन्तरनिर्वाचन क्षेत्रमा बसोबास गर्ने अस्थायी मतदाताहरूलाई मतदानमा सहभागी गराउने उद्देश्यले नयाँ कानुनी ढाँचा तयार गर्न लागिएको छ।
नेपालका परनिर्वाचन क्षेत्रमा रहेका नेपाली नागरिकहरूलाई मतदानको अवसर उपलब्ध गराउन आगामी निर्वाचनका लागि अस्थायी मतदातासूचीमा नाम लेखाउनुपर्ने व्यवस्था ल्याइने भएको छ। निर्वाचन आयोगका अनुसार, अन्तरनिर्वाचन क्षेत्रमा बसोबास गर्ने नेपालीलाई चुनावी प्रक्रिया सहभागी गराउने उद्देश्यले प्रत्येक पालिकामा विशेष मतदान केन्द्र स्थापना गरिनेछ।
यसका लागि नीति अनुसन्धान प्रतिष्ठानले सरकारले दर्ता प्रक्रिया, मतदान केन्द्रको निर्माण र मतदाताहरूको गोपनीयता सुनिश्चित गर्नका लागि विशेष सुझावहरू दिएका छन्। प्रतिष्ठानले अस्थायी मतदातासूचीमा नाम लेखाउनको लागि अनलाइन दर्ता प्रक्रिया सुरु गर्नुपर्ने सुझाव दिएको छ।
यस क्रममा नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र र अन्य आवश्यक कागजातहरूको डिजिटल प्रमाणीकरण गर्नुपर्नेछ।












