नेकपा एमालेको ११औँ महाधिवेशनमा १६ दलका नेताहरूको सहभागिता, उद्घाटन गर्दै ओली

User Image Prime TV News एक महिना अगाडि
Image of नेकपा एमालेको ११औँ महाधिवेशनमा १६ दलका नेताहरूको सहभागिता, उद्घाटन गर्दै ओली

काठमाडौ । नेकपा एमालेले आफ्नो ११औं महाधिवेशनको उद्घाटन समारोहमा १६ राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरेको छ।

पार्टीका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले शुक्रबार भक्तपुरको सल्लाघारीस्थित चौरमा आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनका तयारी र यसमा उपस्थित हुने प्रमुख नेताहरूको बारेमा जानकारी दिएका हुन्।

महाधिवेशन उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत १६ दलका प्रमुख नेताहरूको उपस्थिति रहने पुष्टि भएको छ। डा. भट्टराईले भने, “कांग्रेसका सभापति देउवा र प्रचण्डसँगै अन्य १६ पार्टीका नेताहरूले आफ्नो उपस्थितिको कन्फर्मेसन दिनुभएको छ।” महाधिवेशनको उद्घाटन समारोह मङ्सिर २७ गते सल्लाघारीमा हुने तय भएको छ।

पार्टी अध्यक्ष र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यस उद्घाटन समारोहको नेतृत्व गर्नेछन्। महाधिवेशनका अन्य सत्रहरू भने २८ र २९ गते भृकुटी मण्डपमा बन्दसत्रको रूपमा आयोजना हुनेछन्। यसमा पार्टीका आन्तरिक मामिलामा छलफल र आगामी कार्ययोजना तय गर्ने प्रक्रियामा प्रमुख नेताहरूको सहभागिता रहनेछ।

महाधिवेशनको उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरूसँगै राष्ट्रिय प्रमुख दलहरूको उपस्थितिले यसलाई एक ऐतिहासिक अवसर बनाउने बताइएको छ। डा. भट्टराईले महाधिवेशनको उद्घाटनमा विभिन्न राजनीतिक दलका नेताहरूको सहभागिताले पार्टीको सशक्त नेतृत्व र सन्देश प्रकट गर्ने उल्लेख गरे।