हेटौँडा बजार क्षेत्रको सडक विस्तार मुद्दामा मिसिल झिकाउने सर्वोच्चको आदेश
Prime TV News एक महिना अगाडि 
काठमाडौ । हेटौँडा बजार क्षेत्रको सडक विस्तारसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश जारी गरेको छ। अदालतको इजलास नम्बर २ मा शुक्रबार भएको सुनुवाइमा उक्त आदेश जारी गरिएको हो।
डिभिजन सडक कार्यालय हेटौँडाले गरेको निर्णयविरुद्ध रिट निवेदन दायर गर्दै रास्वपा नेतृ र पूर्व सांसद विन्दवासिनी कंसकार लगायत ६ जनाले उक्त मुद्दा सर्वोच्च अदालतमा दायर गरेका थिए। अदालतले सुनुवाइ गर्दै मुद्दासम्बन्धी विगतका निर्णय र विचाराधीन मुद्दाको मिसिल झिकाउने आदेश दिएको जनाएको छ।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासले आगामी पुस २ गते पेसी तोक्दै अन्य आदेश जारी गरेको छ। आगामी पेसीमा अदालतले सो मुद्दासम्बन्धी विगतका निर्णयहरूको पुनरावलोकन गरेर छलफल गर्ने तयारी गरेको छ।
यस मुद्दामा, स्थानीय बासिन्दाहरूको चासो र आपत्ति सडक विस्तारको प्रक्रियामा छ। हेटौँडा बजार क्षेत्रको सडक विस्तारलाई लेकर स्थानीयहरूको असन्तोष बढिरहेको छ । जसमा विभिन्न पक्षले सडकको चौडाइ र अव्यवस्थित निर्माणको विरोध गर्दै आएका छन् ।













