राप्रपाले राजसंस्थाको पुनर्स्थापनाका लागि राष्ट्रिय सहमतिको आवश्यकतामा जोड

User Image Prime TV News एक महिना अगाडि
Image of राप्रपाले राजसंस्थाको पुनर्स्थापनाका लागि राष्ट्रिय सहमतिको आवश्यकतामा जोड

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थाको पुनर्स्थापनाका लागि जनमतसंग्रह वा रक्तपातको बाटो नभइ राष्ट्रिय सहमतिको मार्ग अपनाउनुपर्ने बताएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले शुक्रबार केन्द्रीय कार्यसमितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा यस विषयमा आफ्नो पार्टीको स्पष्ट धारणा सार्वजनिक गरे।

लिङदेनले भने, “राप्रपाको परिकल्पनाको राजसंस्था पूर्ण संवैधानिक राजसंस्था हो र यसको पुनर्स्थापना जनमतसंग्रहको माध्यमबाट होइन, सबै राजनीतिक दल र समाजको सहमतिमा आधारित हुनुपर्दछ।” उनले थपे, “राजसंस्था कुनै पनि अल्पमत वा बहुमतको आधारमा स्थापित हुन सक्दैन, यो देशको साझा संस्था हुनुपर्ने छ।”

राप्रपाले वर्तमानको राजनीतिक परिस्थितिमा जनताका माग र नयाँ पुस्ताका मुद्दाहरू सम्बोधन नगरी यथास्थितिमा निर्वाचनको आयोजना गर्दा मुलुकको समस्याको समाधान नहुने ठहर गरेको छ । पार्टीले सरकार र जेनजीबीच भएको सहमतिको प्रक्रिया अझै अपूर्ण रहेको र त्यसका सम्बन्धमा साझा धारणा कायम गर्न आवश्यक रहेको पनि प्रष्ट पारेको छ।

यसैबीच राप्रपाले विदेशमा रहेका नेपालीहरूको मताधिकार सुनिश्चित गर्नका लागि विदेशबाटै र अन्तरजिल्ला मतदान गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ। यसले विदेशमा रहेका लाखौं नेपालीहरूको चुनावी सहभागिता सुनिश्चित गर्न मद्दत पुर्याउने पार्टीको विश्वास छ।