एमाले महाधिवेशन : पोखरेलको अवधारणा पत्र माथि छलफल नहुने, अध्यक्षमा ओली पोखरेलबीच प्रतिस्पर्धा

User Image Prime TV News एक महिना अगाडि
Image of एमाले महाधिवेशन : पोखरेलको अवधारणा पत्र माथि छलफल नहुने, अध्यक्षमा ओली पोखरेलबीच प्रतिस्पर्धा

काठमाडौ । नेकपा एमालेको ११औँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पेस गरेको अवधारणापत्रमाथि औपचारिक छलफल नहुने भएको छ।

यद्यपि, पोखरेलको दस्तावेज बन्दसत्रस्थलमै वितरण गर्ने समय दिने सहमति भएको छ। साथै, उनले अध्यक्ष पदमा उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रिएमा अवधारणापत्रका विषयमा बोल्न पनि छुट दिइने एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका छन्।

पोखरेलले हालै पार्टीको लोकतान्त्रिक सुधार, पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता मुद्दा जस्ता विवादास्पद विषय समेटेर अध्यक्ष केपी शर्मा ओलीलाई लिखित अवधारणापत्र बुझाएका थिए। यी विषयले महाधिवेशनमा नेतृत्वबीच तानातान थप चर्किने संकेत दिन्छन्।

यसैबीच, एमाले सचिवालय बैठकले अहिले रहेको सचिवालयलाई नै महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको छ।
महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारीमा हुनेछ भने बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा चल्नेछ।

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रत्यक्ष प्रतिस्पर्धा निश्चितजस्तै देखिएको छ। सहमतिको प्रयास भइरहेको भनिए पनि व्यवहारमा शक्ति प्रयोगमै जाने सम्भावना बढिरहेको छ । 

एमालेले यसपटक विद्युतीय मेसिनमार्फत मतदान गर्ने तयारी गरेको छ। महाधिवेशनको उद्घाटन शनिबार बिहान ११ बजे हुने एमालेले जनाएको छ।