एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु, सल्लाघारीमा तीन लाख सहभागी जुट्ने दाबी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आज देखि औपचारिक रूपमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा गरिँदै छ । जहाँ एमालेले शक्ति प्रदर्शनकै शैलीमा कार्यक्रम आयोजना गरेको छ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उद्घाटन सत्रमा देशभरबाट करिब ३ लाख सहभागी उपस्थित हुने अनुमान गरिएको छ। उद्घाटनलाई भव्य देखाउन २०० भन्दा बढी कला र संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिनेछ। पार्टीले यसलाई राष्ट्रिय एकताको सन्देशका रूपमा प्रचार गरिरहेको छ।
उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित १६ वटा राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ। साथै, विभिन्न देशका कूटनीतिक नियोग र विदेशी राजनीतिक दलका प्रतिनिधिबाट शुभकामना सन्देश प्राप्त भइरहेको एमालेले जनाएको छ।
सुरक्षा र व्यवस्थापनका नाममा एमालेले ठूलो जनशक्ति परिचालन गरेको छ। पार्टीका २४ वटा जनसंगठनको प्रतिनिधित्व हुने गरी ५०० भन्दा बढी स्वयंसेवक ड्रेसकोडमा खटाइनेछन् भने कार्यक्रमलाई व्यवस्थित बनाउन १० हजार तालिमप्राप्त स्वयंसेवक परिचालन गरिने तयारी छ।
उद्घाटन मञ्च चाँगुनारायण मन्दिरलाई केन्द्रमा राखेर निर्माण गरिएको छ। उपत्यकाका विभिन्न धार्मिक संरचना एकै मञ्चमा देखाइने व्यवस्था गरिएको छ। मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा एलईडी स्क्रिन राखिएका छन् भने तीन किलोमिटरसम्म आवाज पुग्ने गरी ११५ वटा साउन्ड सिस्टम जडान गरिएको छ। मञ्च अगाडि नेता, मन्त्री, सांसद तथा कूटनीतिक नियोगका प्रतिनिधिका लागि कुर्सी राखिएका छन्।
मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटमार्फत पाला बालेर महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। ११औँ महाधिवेशनको अवसरमा ११ वटा पार्टी झण्डा राखिनेछन्। तीमध्ये १० वटा झण्डा उद्घाटनसँगै फहराइनेछन् भने एउटा झण्डा रिमोटमार्फत फहराइने व्यवस्था गरिएको छ।
महाधिवेशनमा सहभागी हुन आउने सवारीसाधनका लागि कोटेश्वरदेखि गट्ठाघरसम्म आवागमन खुला गरिएको छ। गट्ठाघरस्थित नागरिक उड्डयन प्राधिकरणको खाली चौर र काभ्रेतर्फबाट आउने सवारीका लागि जगातीस्थित भाइरल प्लानिङ क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ। उद्घाटनअघि गट्ठाघर र जगातीबाट भव्य र्याली निकालिने कार्यक्रम पनि तय गरिएको छ।
एमालेको ११औँ महाधिवेशनको बन्दसत्र भने मंसिर २८ र २९ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुनेछ, जहाँबाट पार्टीको नयाँ नेतृत्व चयन हुने अपेक्षा गरिएको छ ।












