एनपीएल फाइनलमा आज सुदूरपश्चिम र लुम्बिनीको निर्णायक भिडन्त, नयाँ च्याम्पियन निश्चित
Prime TV News २ महिना अगाडि काठमाडौ । नेपाल प्रिमियर लिग दोस्रो संस्करणको उपाधि आज शनिबार तय हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिउँसो ३ः३० बजे साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स फाइनलमा आमनेसामने हुँदैछन्।
साविक विजेता प्रतियोगिताबाट बाहिरिसकेकाले यस सिजन एनपीएलले अनिवार्य रूपमा नयाँ च्याम्पियन पाउनेछ। दुवै टोलीका लागि यो अवसर ऐतिहासिक छ । जित्ने टिमले पहिलो पटक उपाधि उचाल्नेछ।
सुदूरपश्चिम रोयल्सको कप्तानी नेपाली राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन्। रोयल्स लिग चरणमा स्थिर र सन्तुलित प्रदर्शन गर्दै सातमध्ये चार खेल जितेर शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमार्फत उपाधिनजिक पुगेको टोली हो।
गत संस्करणमा फाइनलमा जनकपुर बोल्टससँग पाँच विकेटले पराजित भएर उपविजेतामै सीमित भएको रोयल्स यस पटक त्यो असफलता मेटाउने दबाब र दृढतासहित मैदान उत्रँदैछ।
लुम्बिनी लायन्सको नेतृत्व भने नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले गरिरहेका छन्। लायन्सले इलिमिनेटर र दोस्रो क्वालिफायर लगातार जित्दै फाइनल यात्रा तय गरेको हो।
लिग चरणका सात खेलमध्ये चार जित निकाल्दै लय समातेको लुम्बिनी पछिल्ला पाँच खेल लगातार जितेर आत्मविश्वासको उच्च बिन्दुमा पुगेको छ। गत संस्करणमा लिग चरणबाटै बाहिरिएको लुम्बिनीका लागि यो फाइनल यात्राले ठूलो रूपान्तरण देखाएको छ।
यस सिजन लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई सात विकेटले पराजित गरेको थियो। गत संस्करणमा भएको एक मात्र भेटमा पनि लुम्बिनी ४५ रनले हारेको थियो।
आजको खेलसँगै एनपीएलको दोस्रो संस्करण समाप्त हुनेछ र नेपाली फ्रेन्चाइज क्रिकेटले नयाँ च्याम्पियन पाउनेछ।













