एमाले महाधिवेशन प्रतिनिधि मनोनयनमा चर्कियो विवाद, पोखरेल समूह असन्तुष्ट
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि मनोनयनलाई लिएर पार्टीभित्र तीव्र विवाद उत्पन्न भएको छ। अध्यक्ष केपी शर्मा ओली पक्षले सहमति तोडेर एकपक्षीय रूपमा प्रतिनिधि मनोनित गरेको आरोप वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले लगाएको छ।
शुक्रबार सम्पन्न सचिवालय बैठकमा प्रतिनिधि मनोनयन ६०/४० को अनुपातमा गर्ने स्पष्ट सहमति भए पनि त्यसअनुसार प्रक्रिया नचलेको भन्दै पोखरेल समूहले आपत्ति जनाएको हो। सहमतिअनुसार अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल बसेर १०८ जना प्रतिनिधिको टुंगो लगाउने तय भएको थियो।
तर उक्त सहमति कार्यान्वयन नहुँदै अध्यक्ष पक्षबाट एकलौटी रूपमा प्रतिनिधिको सूची सार्वजनिक भएपछि विवाद चर्किएको हो। पोखरेल समूहले यसलाई पार्टीभित्रको आन्तरिक लोकतन्त्रको खुलेआम उल्लंघन भएको भन्दै गम्भीर आपत्ति जनाएको छ।
पोखरेल समूहका पत्रकार राजेश राईले सामाजिक सञ्जालमार्फत सहमति विपरीत सूची सार्वजनिक गरिएको उल्लेख गर्दै नेताहरू असन्तुष्ट बनेको बताएका छन्। उनका अनुसार सहमतिअनुसार आज बिहान छलफल गरेर टुंग्याउने तयारी भए पनि त्यो प्रक्रिया नै बेवास्ता गरिएको हो।
महाधिवेशन नजिकिँदै गर्दा देखिएको यो विवादले एमालेभित्रको गुटगत द्वन्द्व सतहमा आएको छ। सहमतिलाई कागजको टुक्रा बनाउने यस्तो व्यवहार पार्टी एकता र अनुशासनका लागि गम्भीर चुनौती बनेको छ ।













