एमाले महाधिवेशनमा लोकतान्त्रिक अभ्यास र सक्षम नेतृत्व आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

User Image Prime TV News एक महिना अगाडि
Image of एमाले महाधिवेशनमा लोकतान्त्रिक अभ्यास र सक्षम नेतृत्व आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन पार्टीको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसर भएको बताएकी छन्।

उनले महाधिवेशन लोकतान्त्रिक अभ्यास, स्वस्थ प्रतिस्पर्धा र सक्षम नेतृत्व चयनमा केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन् ।सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै भण्डारीले देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई स्वागत गरेकी छन्।

उनले प्रतिनिधिहरू राजनीतिक रूपमा परिपक्व, जिम्मेवार र बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे सचेत रहेको विश्वास व्यक्त गरेकी छन्। महाधिवेशन पार्टीको सर्वोच्च निर्णय गर्ने निकाय भएको उल्लेख गर्दै उनले जनताको बहुदलीय जनवादका मूल्य र मान्यताहरूलाई व्यवहारमा उतार्नुपर्ने बताएकी छन्।

उनका अनुसार पार्टीभित्र खुला संवाद, सहकार्य र प्रतिस्पर्धाको वातावरण मजबुत भए मात्र योग्य र सक्षम नेतृत्व विकास सम्भव हुन्छ। मुलुक वर्तमानमा तरल राजनीतिक अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले अहिलेसम्म प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धि हासिल गर्न एमाले एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएकी छन्।