एमाले महाधिवेशन उद्घाटनमा देउवा नजाने, कांग्रेसबाट खड्काको सहभागिता
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन्।
भक्तपुरको सल्लाघारी चौरमा आयोजना हुने उद्घाटन कार्यक्रममा देउवा उपस्थित नहुने उनको सचिवालयले जनाएको छ । कांग्रेसको तर्फबाट महाधिवेशनमा शुभकामना व्यक्त गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहभागी हुनेछन्।
एमालेले उद्घाटन समारोहका लागि कांग्रेससहित १६ राजनीतिक दललाई औपचारिक रूपमा निम्तो दिएको थियो। एमाले महाधिवेशनमा देउवालाई आमन्त्रण गर्न अतिथि सत्कार समितिका संयोजक रघुवीर महासेठ र नेता महेश बर्तौलाले देउवाको निवासमै पुगेर निमन्त्रणासमेत दिएका थिए।
तर त्यसपछि पनि देउवा स्वयं कार्यक्रममा नजाने निर्णयमा पुगेका हुन्। राजनीतिक रूपमा महत्वपूर्ण मानिने महाधिवेशन उद्घाटन समारोहमा प्रमुख दलका सभापतिको अनुपस्थितिले दलहरूबीचको सम्बन्ध र वर्तमान राजनीतिक दूरीलाई संकेत गर्ने विश्लेषण गरिएको छ।












