विश्वकप २०२६ का लागि टिकटमा अभूतपूर्व माग, मूल्य वृद्धिले फिफा दबाबमा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । फिफा विश्वकप २०२६ का लागि हालसम्म ५० लाखभन्दा बढी टिकटको माग आएको अन्तर्राष्ट्रिय फुटबल संघ (फिफा) ले जनाएको छ। बिहीबारदेखि सुरु भएको प्रारम्भिक माग प्रक्रियामा २०० भन्दा बढी देशका फुटबल समर्थकहरू सहभागी भएका छन्। फिफाका अनुसार सबैभन्दा धेरै टिकट माग २७ जुनमा अमेरिकाको मियामीमा हुने कोलम्बिया र पोर्चुगलबीचको खेलका लागि परेको छ। अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपले विश्वभर तीव्र उत्साह पैदा गरेको देखिन्छ। तर टिकटको मूल्यले भने समर्थकहरूलाई आक्रोशित बनाएको छ। फुटबल समर्थक संघले विश्वकप २०२६ का टिकट मूल्यलाई 'अपमानजनक' भन्दै कडा आलोचना गरेको छ। एफएसएले मूल्य निर्धारण नीतिबारे फिफासँग वार्ता नगरेसम्म टिकट बिक्री प्रक्रिया रोक्न माग गर्दै फुटबल समर्थक युरोप सँग ऐक्यबद्धता जनाएको छ। फिफा २०२६ को समूह चरणको टिकट मूल्य २०२२ मा कतारमा भएको विश्वकपको तुलनामा करिब तीन गुणा बढाइएको छ। फाइनल खेलका लागि सबैभन्दा सस्तो टिकटको मूल्य ३,११९ पाउण्ड स्टर्लिङ तोकिएको छ, जुन कतार विश्वकपको फाइनल टिकटभन्दा झन्डै सात गुणा महँगो हो। फिफाका अनुसार सबैभन्दा बढी टिकट माग तीन आयोजक राष्ट्रबाट आएको छ। त्यसपछि कोलम्बिया, इङ्ल्यान्ड, इक्वेडर, ब्राजिल, अर्जेन्टिना, स्कटल्यान्ड, जर्मनी, अस्ट्रेलिया, फ्रान्स र पानामाबाट ठूलो संख्यामा आवेदन परेको छ। विश्वकपमा पहिलो पटक ४८ राष्ट्र सहभागी हुँदैछन्।













