एमाले महाधिवेशन उद्घाटनमा प्रचण्ड र माधव नेपाल नजाने

User Image Prime TV News २ महिना अगाडि
Image of एमाले महाधिवेशन उद्घाटनमा प्रचण्ड र माधव नेपाल नजाने

काठमाडौ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल सहभागी नहुने भएका छन्।

एमाले महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारी चौरमा केहीबेरमा सुरु हुँदैछ। तर प्रचण्ड र माधव नेपाल दुवै अहिले सुर्खेतमा आयोजित पार्टी एकता सन्देश सभामा सहभागी हुन पुगेका कारण उद्घाटन समारोहमा उपस्थित नहुने भएका हुन्।

प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट नेता देव गुरुङले एमाले महाधिवेशनमा शुभकामना सन्देश व्यक्त गर्नेछन्।

एमालेले उद्घाटन समारोहका लागि नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीसहित १६ राजनीतिक दललाई निमन्त्रण दिएको थियो। तर प्रमुख कम्युनिस्ट नेताहरूको अनुपस्थितिले उद्घाटन समारोहको राजनीतिक सन्देश र आपसी सम्बन्धबारे विभिन्न अड्कलबाजी सुरु भएको छ।

महाधिवेशनजस्तो महत्वपूर्ण कार्यक्रममा शीर्ष नेताहरूको अनुपस्थिति केवल संयोग मात्र नभई वर्तमान राजनीतिक सम्बन्ध र दूरीको संकेतका रूपमा हेरिएको छ।