इरानमा नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदी पक्राउ

User Image Prime TV News एक महिना अगाडि
Image of इरानमा नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदी पक्राउ

काठमाडौ । नोबेल शान्ति पुरस्कार विजेता तथा महिला अधिकारकर्मी नर्गेस मोहम्मदीलाई इरानी सुरक्षा बलले पुनः पक्राउ गरेको पुष्टि भएको छ।

नर्गेस फाउन्डेसनका अनुसार ५३ वर्षीया मोहम्मदीलाई पूर्वी इरानको मसहद सहरमा अन्य नागरिक अधिकारकर्मीहरूसँगै नियन्त्रणमा लिइएको हो।

मोहम्मदीको गिरफ्तारीप्रति नोबेल समितिले गहिरो चिन्ता व्यक्त गर्दै इरानी अधिकारीहरूलाई उनको अवस्थाबारे स्पष्ट जानकारी दिन आग्रह गरेको छ। समितिले मोहम्मदीको सुरक्षा र मानवीय मर्यादा सुनिश्चित गर्न तथा उनलाई बिनासर्त रिहा गर्न माग गरेको छ।

यस घटनाबारे इरानी सरकारबाट भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। सरकारको मौनताले मोहम्मदीको अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायमा थप आशंका र चिन्ता बढाएको छ।

इरानमा महिला दमनविरुद्ध निरन्तर संघर्ष र मानव अधिकारको प्रवर्द्धन गरेको योगदानको कदरस्वरूप मोहम्मदीलाई सन् २०२३ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। उनी लामो समयदेखि राज्य दमनको सामना गर्दै आएकी छिन्।

स्वास्थ्य समस्याका कारण डिसेम्बर २०२४ मा उनलाई तीन हप्ताका लागि अस्थायी रूपमा जेलबाट रिहा गरिएको थियो। तर त्यसअघि उनी सन् २०२१ देखि तेहरानको कुख्यात एविन जेलमा थुनिएकी थिइन् ।