राष्ट्रिय जनमोर्चाका महासचिव भट्टद्वारा संसद् हत्या भएको आरोप, जेनजी आन्दोलन र सरकारमाथि कडा आलोचना
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले सुशीला कार्की नेतृत्वको सरकारमाथि संसद् कमजोर बनाउने र जनप्रतिनिधि संस्था निष्क्रिय पार्ने गम्भीर आरोप लगाएका छन्।
नेकपा एमालेको एघारौँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै उनले जेनजी आन्दोलनको नाममा असंवैधानिक अभ्यास गरिएको दाबी गरे।
भट्टले सरकार गठन प्रक्रिया नै संविधानको मर्मविपरीत भएको उल्लेख गर्दै त्यसको पहिलो निर्णय संसद्को भूमिकामाथि प्रहार गर्नु भएको बताए। “जनजीविकाका सवालमा निर्णय गर्नुको सट्टा संसद्लाई निष्क्रिय बनाउने काम गरियो,” उनले भने।
उनले विगतका शाही शासनकालसँग तुलना गर्दै संसद् विघटनको आरोप लगाए। “जसरी राजा महेन्द्र र राजा ज्ञानेन्द्रले संसद् समाप्त पारे, त्यही शैली अहिले दोहोरिएको छ,” भट्टको भनाइ थियो।
महासचिव भट्टले दलहरूबीचको आपसी लडाइँ र द्वन्द्वका कारण बाह्य शक्तिले हस्तक्षेप गर्ने अवसर पाएको बताए। “हाम्रो कमजोरीकै कारण छिमेकीहरूले खेल्ने मौका पाए,” उनले भने, “महाधिवेशनले हामी कहाँ चुक्यौँ भन्ने गम्भीर समीक्षा गर्नुपर्छ।”
जेनजी आन्दोलनको आलोचना गर्दै भट्टले त्यसको निशाना गणतन्त्रवादी दल र नेतामाथि मात्र केन्द्रित भएको बताए। “प्रहार सधैँ नेतामाथि भयो, अन्य शक्तिमाथि प्रश्न उठाइएन,” उनको भनाइ थियो।













